निर्वाचन 2082
काठमाडौं– देशभर आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने समय तोकी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । नियमित समयभन्दा करिब २ वर्षअघि हुन गइरहेको यो निर्वाचनले देशमा सुशासन, पारदर्शिता, स्थायित्व र विकास ल्याउने आम नागरिकको अपेक्षा छ ।
जेनजी पुस्ताले भदौ २३ र २४ मा गरेको आन्दोलनका कारण यो निर्वाचन नियमित समयभन्दा पहिले नै हुन लागेको हो । भ्रष्टाचार, अपारदर्शिता, शासन प्रणालीमा कानुनी र राजनीतिक हस्तक्षेपले असन्तुष्ट जेनजी आन्दोलनमार्फत तत्कालिन संसद् विघटन गरी अन्तरिम सरकारले यो निर्वाचन गराउँदैछ । युवा पुस्ताको आन्दोलनले सुशासन, स्थायित्व, जवाफदेहिता, सरकारमा पारदर्शिता र प्रशासनिक प्रणाली हस्तक्षेपविहीन बनाउने मूल उद्देश्य राखेको थियो । यसकारण पनि यो निर्वाचनपछि भ्रष्टाचार निष्प्रभावी हुने, न्याय, शान्ति र विकास अघि बढ्ने, जवाफदेही, पारदर्शिता र प्रणाली सुधारको प्रक्रिया थालिने आम अपेक्षा छ ।
निर्वाचन आयोगका अनुसार मतदानका लागि आवशयक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामाग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । मतदान केन्द्रहरुको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैगिक/अपांगमैत्री व्यवस्था तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेका छन् । मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएको आयोगले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सुरक्षा निकायहरुलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको छ । यसैगरी प्रधानमन्त्री कार्कीले बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी निर्वाचन तयारी तथा समसामयिक परिस्थितिाबारे जानकारी गराएकी छन् ।
उत्साहपूर्वक सहभागी भई मतदान गर्न आयोगको अपिल
निर्वाचन आयोगले ऐतिहासिक लोकतान्त्रिक प्रक्रियामा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई अपिल गरेको छ । ‘यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा योगदान योगदान पुर्याउने छ,’ विज्ञप्तिमा भनिएको छ । आयोगले निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रकिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक व्यवस्था भएकोमा जोड दिएको छ । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने अवसरको रुपमा लिनुपर्नेमा आयोगले जोड दिएको छ ।
१ करोड ८९ लाख मतदाता, ११ हजार मतदान केन्द्र
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार बिहीबार हुने निर्वाचनमा सहभागी हुन मतदाता सूचीमा १ करोड ८९ लाख ३ हजार ६८९ जनाको नाम छ । त्यसमध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य मतदाता २ सय जना रहेका छन् । निर्वाचनमा ११ हजार ११० मतदानस्थल रहेका छन् । त्यसमा २३ हजार १ सय १२ मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था छ । त्यसमध्ये स्थायी मतदानस्थल १० हजार ९६७ र अस्थायी मतदानस्थल १४३ वटा छन् । सुरक्षा जोखिमका हिसाबले ४ हजार ४१४ अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार २५४ मतदान स्थललाई सामान्य सूचीमा राखिएको छ ।
बुधबार निर्वाचन आयोगमा भएको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था गरिएको बताए । जसअनुसार मतदान तथा मतगणना स्थलमा तीन तहको सुरक्षा घेरा रहनेछ । बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी बल र सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी रहनेछ ।
प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटमा मतदान हुँदैछ । मतदानमा प्रत्यक्षतर्फ ६५ दलका ३ हजार ४०३ जना उम्मेदवार निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दलका ३ हजार १३५ जना उम्मेदवार छन् । आयोगका सचिव कृष्ण बहादुर राउतले ४ वटा हुम्ला र २३ वटा डोल्पा जिल्लाको गरी कुल २७ मतदान स्थानमा हेलिकप्टरमार्फत नै कर्मचारीदेखि मतपत्र र अन्य सामग्री पठाएको जानकारी दिए । ‘ताप्लेजुङदेखि दार्चुलासम्मका थप १५ जिल्लाका ६१ मतदान स्थानको मतदानपछि हेलिकप्टरबाट मतगणनास्थलसम्म लगिनेछ,’ उनले भने । अन्य ७७ वटै जिल्लादेखि सवारी साधनमार्फत मतपेटिका ल्याउने व्यवस्था गरिएको छ । ढुवानीको लागि रकम निकासा समेत भइसकेको छ ।
मतदानपछि मतपेटिकालाई मतगणना स्थलसम्म सकेसम्म छिटो पुर्याउने र मतगणना चाँडो गर्ने गरी व्यवस्थापन गरिएको आयोगले जनाएको छ । मतगणनास्थलमा तारजाली, सिसिटिभी राख्ने र उपयुक्त किसिमको हल व्यवस्थापन गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फको मत परिणाम मतगणना थालिएको २४ घण्टाभित्र सम्पन्न गरिनेछ । ‘भौगोलिक र दुर्गम जिल्लाका निर्वाचन केन्द्रबाट गणनास्थलसम्म आइपुग्ने समयबाहेक गणना थालिएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक हुन्छ,’ उनले भने ।
साढे ५ लाख कर्मचारी र सुरक्षाकर्मी परिचालन
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन व्यवस्थापनमा २ लाख १५ हजार निजामती कर्मचारी खटाएको छ । मुख्य निर्वाचन अधिकृतदेखि निर्वाचन सहयोगीसम्म ती कर्मचारी खटाएको हो । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ३ लाख ३६ हजार ८९० सुरक्षाकर्मी खटिँदैछन् । यसअनुसार कुल ५ लाख ५१ हजार ८९० जनशक्ति चुनावमा खटिनेछन् । दुर्गम तथा हिमाली जिल्लादेखि मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिनेछ । मतदान सम्पन्न भएपछि उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिल गरिनेछ । सोही सिल प्रमाणित भएपछि मात्रै मतगणना स्थलमा मतगणना सुरु हुनेछ ।
मतदानको दिन देशभर पानी नपर्ने
मतदानको दिन देशभर पानी नपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत पानी पर्ने सम्भावना नरहेको जानकारी दिएको हो । फागुन २२ गते शुक्रबार भने विभिन्न स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ ।
प्रतिक्रिया