(Wednesday , 18 February,2026)

प्रणय दिवसमा साढे चार लाख स्टिक गुलाफ फूलको माग

mountainejournal.com

mountainejournal.com

काठमाडौं– फेब्रुअरी १४ तारिखमा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे चार लाख बढी स्टिक गुलाफको कारोबार हुने अनुमान व्यवसायीहरुले गरेका छन् । यो वर्ष प्रणय दिवसका लागि करिब चार लाख ६२ हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले अनुमान गरेको हो ।

त्यसो त प्रणय दिवस पश्चिमा संस्कृति हो । तर, पछिल्लो समय नेपालमा पनि यस दिनलाई महत्वका साथ मनाउने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ मा पर्ने भए पनि एक हप्ता अघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । यो पर्वमा प्रेमी जोडीले प्रेमको प्रतीक मानिने रातो गुलाफ आदानप्रदान गर्ने प्रचलन छ ।

मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने भएपछि ७० प्रतिशत गुलाफ भारतबाट आयात हुने गरेको फ्यानमा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार प्रणय दिवस सप्ताहभर ४ लाख ५० हजारभन्दा बढी स्टिक गुलाफ खपत हुने अनुमान छ । स्वदेशी उत्पादनले माग आपूर्ति गर्न नसक्ने हुँदा विगतका वर्षमा जस्तै यो वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनले बताए । यस वर्ष रातो गुलाफ प्रतिस्टिक १ सयदेखि १५० रुपैयाँसम्म पर्ने अनुमान छ । उपत्यकामा २ लाख ७० हजार स्टिक र उपत्यका बाहिरका जिल्लामा १ लाख ८० हजार स्टिक गुलाफ खपत हुन्छ । प्रणय दिवस सप्ताहभरमा ५ करोड ६२ लाख रुपैयाँको गुलाफ फूल खरिदबिक्री हुने अनुमान फ्यानले गरेको छ ।

नेपालमा मौसम अनुकूल हुँदामात्रै उत्पादन हुने भएकाले जाडो मौसममा स्थानीय उत्पादन कम हुने गरेको छ । बढी माग हुने समयमा जाडो सिजन नै हुने भएकोले गुलाफ फूलको उत्पादन कम हुने गरेको व्यवसायीहरु बताउँछन् । फ्यानका अनुसार रातो गुलाफ विशेष गरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा व्यावसायिक रुपमा लगाउने गरिएको छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ किसिमका फूलको खेती तथा नर्सरी विस्तार भइसकेको छ । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् ।

चैत पहिलो साता राष्ट्रिय पुष्प मेला
पुष्प व्यवसायको विकास, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले यस वर्ष पनि ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना गर्दैछ । यस वर्षको मेला ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत पाँचदेखि आठ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङका अनुसार मेलामा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल र आलंकारिक बोटबिरुवाबीच विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने आलंकारिक बिरुवा, उत्कृष्ट पुष्प सजावट र उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन) जस्ता विधाहरू समावेश छन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने नर्सरी वा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।

फ्यानका अनुसार फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायी, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता र ठूलो संख्यामा उपभोक्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal