(Thursday , 16 April,2026)

चाँदीमा तोकिएको मूल्यभन्दा ३ सय बढी लिएर ठगी

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य निरन्तर उकालो लागेपछि यसको कालोबजारी सुरु भएको छ । चाँदी बिहीबार तोलामा २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

पछिल्ला केही महिनादेखि चाँदीको मूल्य निरन्तर बढेसँगै बजारमा यसको मागमा पनि वृद्धि भएको छ । यस्तो बेला केही व्यवसायीहरुले बजारमा चाँदीको अभाव सिर्जना गराएर थप मूल्य असुल्ने गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले महासंघले निर्धारण गरेको मूल्यभन्दा व्यवसायीले प्रतितोला ३ सय रुपैयाँ बढी लिन थालेको बताए । उनका अनुसार गएको तिहारमा पनि चाँदीमा कालोबजारी भएको थियो । अहिले चाँदीको भाउ बढेसँगै बजारमा विभिन्न बहाना बनाएर अभाव सिर्जना गरी केही व्यवसायीले कालोबजारी गरिरहेका छन् । यसका बारेमा सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने उनले बताए ।

अहिले बजारमा चाँदीको दैनिक माग ५ सय किलोसम्म पुगेको छ । केही समय अघिसम्म बजारको माग ३ सय किलो थियो । शाक्यका अनुसार चाँदी आयातमा कोटा प्रणाली छैन । वाणिज्य बैंकहरु र व्यवसायी दुवैले आयात गर्न पाउँछन् । राष्ट्र बैंकले अहिले चाँदी आयात गर्न डलर सटही सुविधा ५ लाख डलरसम्म पु¥याएको छ । विगतमा यो एक लाख डलर मात्र थियो । अहिले थप गरे पनि यसको दुरुपयोग भइरहेको आरोप शाक्यको छ । केही कम्पनीहरुले अभावको फाइदा उठाउँदै प्रतितोला २ सयदेखि ३ सय रुपैयाँसम्म बढी मूल्य लिएर चाँदी बिक्री गरिरहेको गुनासो उपभोक्ताले गरेका छन् ।

महासंघका अर्का पूर्वअध्यक्ष मणिकरत्न शाक्यले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै चाँदीको खपत बढ्दै गएको हुँदा मूल्य निरन्तर उकालो लागेको बताए । सुनको मूल्य अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण उच्च वृद्धि भएपछि चाँदीको पनि मूल्य बढेको हो । अर्कोतिर चाँदी औद्योगिक एवं अन्य उपकरणहरुमा समेत प्रयोग हुन थालेपछि यसको माग बढेको उनको भनाइ छ ।

शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारको पछिल्लो प्रक्षेपण अनुसार सुनको मूल्य २०२६ को अन्तिमसम्ममा प्रतिऔंस ६ हजार डलर पुग्ने अनुमान छ । चाँदीको मूल्य कहाँसम्म पुग्छ अनुमान गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

विश्व बजारमा चाँदीको खपत बढ्दो छ । नेपाली बजारमा पनि पछिल्लो समय चाँदीको माग उच्च बढेको छ । दैनिक ५ सय किलोसम्मको माग आउने गरेको शाक्यको भनाइ छ । उच्च मागका कारण अहिले बजारमा चाँदीको अभाव देखिन थालेको उनले बताए । उनका अनुसार माग धेरै र आपूर्ति कम भएका कारण निर्धारित मूल्य भन्दा केही व्यवसायीले बढी लिने गरेको गुनासाहरु आएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य घटिरहेको अवस्थामा नेपाली बजारमा व्यवसायीहरुले उच्च मूल्य लिएर उपभोक्तालाई ठग्ने काम गरिरहेको बताए । महर्जनका अनुसार अहिले बजारमा व्यवसायीले प्रतितोला चाँदीमा ३ हजुर सयसम्म बढी लिइरहेका छन् ।

‘चाँदीमा मात्र नभएर सुनमा समेत पित्तल मिश्रण गरी उपभोक्तालाई ठग्ने काम भएको छ । यस्ता विषयमा उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने आवश्यक छ,’ उनले भने ।

सुन एकै दिन तोलामा साढे २० हजार बढ्यो
पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र खासगरी इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण सुनको मूल्य उच्च दरले बढेको छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने धम्कीपूर्ण अभिव्यक्ति र विश्व बजारको प्रभावका कारण सुनको मूल्य नयाँ उचाइमा पुगेको व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ । यो अहिलेसम्मकै उच्च हो ।

एकैदिन प्रतितोला ९-१० हजार रुपैयाँले बढेको रेकर्ड भए पनि हालसम्म एकैदिन २० हजार रुपैयाँ बढेको यो पहिलो हो । बिहीबार एकैदिन २० हजार ५ सयले बढेपछि नेपाली बजारमा सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal