(Tuesday , 21 April,2026)

निकासी वस्तुको सूचनाबारे नेपाल-भारत समझदारी

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको समझदारीमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट सिबिआईसीका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेको भन्सार विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार मुलुकहरूबीच निकासी वस्तुको तथ्यांक अग्रिम रूपमा आदानप्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्ने व्यवस्था रहँदै आएको छ ।

यही अभ्यासअनुसार नेपाल र भारतबीच पनि निकासी वस्तुको आगमनपूर्व तथ्यांक आदानप्रदान गर्ने व्यवस्था गर्न समझदारी गरिएको हो । विभागका अनुसार भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सिबिआईसी) र नेपालको भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारीपत्रको मस्यौदामा सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइएको थियो ।

भन्सार प्रक्रियामा लाग्ने समय घटाउने, सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने र राष्ट्रिय कानुनको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्यांक आदानप्रदान गर्ने प्रावधान समेटिएका छन् ।

सूचनाको प्रयोग समझदारीपत्र अनुसार मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, सुरूमा तोकिएका वस्तुमा नमूनाका रूपमा लागु गरी पछि सबै वस्तुमा विस्तार गर्ने व्यवस्था गरिएको छ ।

कार्यान्वयनमा विवाद आए आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने र आपसी समझदारीमा संशोधन गर्न सकिने व्यवस्था छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal