काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई आफूहरुले रोकेको नेपाली सेनाले जनाएको छ । जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले यसबारे खुलाएका हुन् । 'विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर आएकाहरूलाई हामीले रोक्यौं,' उनले भने, 'विमानस्थल बन्द भएको भए अन्तराष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो ।'
यस्तै, आन्दोलनबाट सिर्जित अवस्थाका कारण ९ सय ७८ हातहतियार लुटिएको सेनाले जनाएको छ । लुटिएका मध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएका छन् ।
यस्तै १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् । २४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सेनाका अनुसार ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीमा परेका छन् ।
कुल ७६ जनाको ज्यान गएकामा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको सेनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया