(Wednesday , 10 December,2025)

सुन दशैंपछि २५ हजार रुपैयाँले बढ्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपाली बजारमा दशंैपछि मात्र सुनको मूल्य प्रतितोला झण्डै २५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार दशैं बिदअघि असोज १२ गते  प्रतितोला सुन २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । असोज २८ गते प्रतितोला सुनको २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । गते असोज १२ गते कारोबार भएको मूल्यसँग तुलना गर्दा दशैंपछि मात्र सुनको मूल्य २५ हजार ३ सय रुपैयाँ बढेको हो । 
नेपालका सुनचाँदी व्यवसायी सम्बद्ध संघसंस्थाहरूले आन्तरिक बजार खोल्ने दिन त्यसै दिनको ११ बजेसम्मको अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिएर स्थानीय बजारको मूल्य तोक्छन् । पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार जसो बढ्दै गएको छ । 
कुनै दिन सामान्य रुपमा २–४ हजार रुपैयाँ मूल्य घटे पनि सुनको भाउ निरन्तर बढेको छ । यही कारण छोटो समयमा नै मूल्य चुलिएको हो । सुनको मूल्य किन बढ्दै गएको छ ? यसको उत्तर कसैले दिन सकेको छैन ।

केही वर्षदेखि विश्व अशान्त छ । कोभिड महामारी, रुस–युक्रेन र इजरायल–हमास लामो समयदेखि युद्धमा छन् । अन्य मुलुकहरुमा पनि छिटफुट रुपमा युद्ध भएका छन् । केही दिन इजरायल–इरानबीच युद्ध भयो । त्यसमा अमेरिका पनि सामेल बन्यो । यस्तै, भारत र पाकिस्तानबीच पनि केही दिन युद्ध चल्यो । दिनहुँजसो विश्वका शक्तिशाली मुलुकहरुले एकले अर्कालाई धम्की दिइरहेका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि त्यसै पनि विश्व अशान्त छ । ट्रम्पको भन्सार नीतिले पनि धेरै मुलुकलाई समस्या पारेको छ । यी सबैका कारण विश्वभर नै लगानीका क्षेत्र खुम्चिएका छन् । सेयर बजारले पनि राम्रो प्रतिफल दिएको छैन । यस्तोमा धेरै व्यक्ति र मुलुकका लागि सुन लगानी योग्य वस्तु बनेको छ । अर्कोतिर संसारका केन्द्रीय बैंकहरुले लिएका नीतिले पनि सुन महँगो बनाइरहेको छ ।

अमेरिकी केन्द्रीय बैंक (फेड)ले केही समयअघि ब्याजदर घटाउँदै ल्याएको छ । अमेरिकामा रोजगारी दर घट्न थालेको र बजारमा उपभोग बढाउन ब्याजदर कटौती गरिएको छ । यसले डलरको भाउ घट्ने अनुमान गरी लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् । यस्तै, विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले पनि सुन खरिद गर्ने प्रवृत्ति बढेकाले भाउ बढ्दै गएको छ ।

भू राजनीतिका कारण विश्वबजारमा पछिल्लो समय सुनको निरन्तर उकालो लगानी रहेको छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पुगेको व्यवसायीको भनाइ छ ।  भू राजनीतिका कारण विश्व अर्थतन्त्र नै अस्थिर हुँदा विश्वका लगानी कर्ता उत्पादन क्षेत्रमा गर्न छोडेर सुनमा लगानी गर्न थालेपछि विश्व बजारमा पछिल्लो समय सुनको माग बढ्न थालेपछि सुनको मूल्य दिन प्रतिदिन उकालो लाग्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताउँछन् । 

अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुन चाँदीको मूल्य वृद्धि हुँदै गएको हुँदा सुनको मूल्य कति पुग्छ भनेर अनुमान गर्न नसक्ने अवस्था रहेको उनले बताए । 
सुनचाँदी व्यवसायी तेजरत्न शाक्य अनुसार सुन तिहारसम्म प्रतितोला २ लाख ६० सम्म पुग्ने बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा अहिले जसरी बढी रहेको छ त्यो अवस्था हेर्दा तिहार अघि सुन चाँदीको मूल्य नघट्ने अवस्था नभएको उनले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तिहारसम्म प्रतिऔंस चार हजार अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपण थियो । उक्त प्रक्षेपण नागि सकेको छ । अहिले अर्थविदले फेरी सुनको मुल्य प्रतिऔंस ५ हजार पुग्ने अनुमान गरी रहेका छन् । तर, कतिपय अर्थविदले केही समयपछि सुनको मूल्य हत्तै घट्ने हुँदा सुनमा लगानी नगर्न समेत भनिरहेका अवस्थाले सुन मूल्य कहाँ पूग्छ भन्ने सक्ने व्यवसायी शाक्य बताउँछन् ।  भू–राजनीतिले अर्थतन्त्र नै अनिश्चित हुँदा पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागेको उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य वृद्धि हुँदा पछिल्लो समय त्यसको असर नेपाली बजारमा प्रत्यक्ष असर पर्नुका साथै कालोबजारी समेत बढेको उनको गुनासो छ । नेपाली बजारमा सुन र चाँदी कालोबजारी मौलाएको उनको दावी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुदीप श्रेष्ठले अहिले विश्व बजार हेर्दा तत्काल सुनको मूल्य घट्ने अवस्था नभएको बताउँछन् । 
 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal