(Wednesday , 15 July,2026)

खाद्यका २२ समूहका ८१४ प्यारामिटर परीक्षण गर्न अन्तर्राष्ट्रिय मान्यता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपाली उत्पादन विश्वबजारमा पुराउन सहज हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ खाद्य समूहमा ८१४ प्यारामिटरमा परीक्षण  गर्न सक्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेसँगै नेपाली उत्पादन विश्व बजारमा पुराउन सहज हुने भएको हो । विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला (एनएफएफआरएल)ले हालै ८१४ प्यारामिटरमा परक्षिण गर्न सक्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुँदा यस अघि छिमेकी मुलुक भारतले विभिन्न बहाना बनाएर नेपाल उत्पादन अदुवा, अलैंची लगायतका वस्तु निर्यातमा अवरोध पुराउने समस्या थियो । अब विभागको प्रयोगशालाले  २२ खाद्य समूहमा ८१४ प्यारामिटरमा परीक्षण  गर्न सक्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि निर्यातमा धेरै सहज हुने विभागका महानिर्देशक सन्जिवकुमार कर्णले जानकारी दिए । नेपालको लागि उक्त मान्यता प्राप्ति ऐतिहासिक उपलब्धि भएको उनले बताए । यो उपलब्धीले नेपालको उत्पादन विश्वबजारमा सहज रुपमा पुग्ने छ । 

महानिर्देशक कर्णका अनुसार  एनएफएफआरएलले यस्ता वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रको आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्षम भएका छन् । यो प्रयोगशालाले मान्यता प्राप्त गरेपछि निर्यात गर्ने विभिन्न उद्योगीहरु नेपालमै परीक्षण गराउन थालेको उनले जानकारी दिए । विभागको गुणस्तर परिक्षण प्रयोगशालाले उक्त परीक्षण गर्न सक्ने अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपाली निर्यातकर्ता

उद्योगीहरुले एउटा खाद्य वस्तुको परीक्षण गराउन भारत जानु पर्ने बाध्यता थियो । अब उक्त बाध्यता हट्नुका साथै  नेपाली निर्यातकर्ता उद्योगीले खाद्य वस्तु परिक्षण गर्दा लाग्ने खर्च समेत बच्ने महानिर्देशक कर्णको भनाइ छ । उनका अनुसार यो सुविधा नहुँदा नेपाली निर्यातकर्ताहरु कृषिजन्य वस्तु निर्यात गर्नका लागि आवश्यक पर्ने गुणस्तर परीक्षणका लागि भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्लीलगायतका स्थानमा धाउनुपर्ने अवस्था थियो । 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विभागको यो प्रयोगशालाले भारतको नेशनल एक्रिडिएशन बार्ड फर टेस्टिङ एण्ड क्यालिव्रेसन ल्याबोरेट्री (एनएबीएल) बाट पछिल्लो समयमा २७२ वटा केमिकल प्यारामिटर तथा १४२ वटा माइक्रोबायोलोजिकल प्यारामिटर गरी कूल ८१४ वटा परीक्षण प्यारामिटरमा परीक्षण गर्न सक्ने गरी पारस्परिक मान्यता पाएको छ ।

यस प्रयोगशालाले यस्ता प्यारामिटरमा परीक्षण गरेको प्रतिवेदनलाई एनएबीएलका साथै विश्वभरका खाद्य सम्बन्धी अन्तर्राष्ट्रिय निकायले पारस्परिक मान्यता दिएको हो । यसैगरी यस प्रयोगशालालाई भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अर्थोरिटी(एफएसएसएआई) ले ५३८ वटा केमिकल तथा १४२ वटा माइक्रोवायोलोजिकल गरी ६८० प्यारामिटरमा परीक्षण गर्न अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ । 

विभागका अनुसार खाद्य समूहअन्तर्गत फुड एडिटिभ तथा कन्टामिनेन्टको जीवनाशक विषादी अवशेषतर्फ १२३, खाद्यको रंगतर्फ ११, कृत्रिक गुलियो पदार्थतर्फ ३, खाद्य प्रेजेरभेटिभतर्फ ६, भिटामिनतर्फ ४, मिनरल्स र मेटलतर्फ १९ र अफ्लाटक्सिनतर्फ ८ वटा प्यारामिटरको पनि परीक्षण गर्न यो प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

फ्याट्स एण्ड आयल, सिरियल्स् प्रोडक्ट्सख (चामल, गहुँ, मकै, कोदो), अलैंची, टी एण्ड कफी, जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी, फलफूल, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, छुर्पी, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लीमेन्ट्सको गर्ने गुणस्तरसम्बन्धी विश्लेषण परीक्षण रिर्पोटलाई भारतले मान्यता दिएको छ । 
विभागका अनुसार विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले सन् २०१२ मा २७ वटा केमिकल प्यारामिटरबाट एक्रिडिटेशन कार्यबाट सुरु गरेको थियो ।

सन् २०१५ मा २२ वटा केमिकल तथा १७ वटा माइक्रोबायोलोजिकल गरी ३९ वटा प्याराएमिटरबाट एक्रिडिटेशन भएको र सन् २०१९ मा ७८ वटा केमिकल तथा २४ वटा माइक्रोबायोलोजिकल गरी १०२ वटा परिक्षण प्यारामिटरको लागि एनएबीएलबाट एक्रिडिटेशन प्रमाणपत्र प्राप्त गरेको थियो । 

सन् २०२३ मा २४५ वटा केमिकल तथा ४१ वटा माइक्रोबायोलोजिकल गरी २८६ वटा परीक्षण प्यारामिटरको लागि एनएबीएलबाट एक्रिडिटेशन  भएको थियो । यसै गरी सोहि अवधिमा २८८ वटा केमिकल तथा ६२ वटा माइक्रोबायोलोजिकल गरी ३५० वटा प्यारामिटर भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटीबाट प्रमाणपत्र प्राप्त भएको थियो । 

खाद्य विभागका र भारतको फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटीबाट बिच भएको सम्झौताका आधारमा सन् २०२५ अप्रिल ०४ अर्थात २०८१ चैत्र २२ मा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट परीक्षण भई प्रदान गरिने परिक्षण प्रमाण पत्र  र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाण पत्रलाई  भारतमा आयात प्रयोजनका लागि मान्यता दिने निर्णय गरी आदेश जारी गरको थियो । भारतले पहिलो चरणमा विभिन्न आठ प्रकारको खाद्य पदार्थहरु जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा तथा ताजा तरकारी एवं फलफुलको लागि प्रदान गरिने परीक्षण प्रतिवेदनलाई मान्यता प्रदान गर्ने निर्णय गरेको थियो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal