एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि परेको भ्रष्टाचार मुद्दाविरुद्ध कानुनी प्रक्रियामा जाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष पनि निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले बताए।
उनले आफ्नो पार्टी र नेताविरुद्ध यसअघि पनि प्रहार हुँदै आएको र तिनै व्यक्तिहरूले अहिले नियतवश मुद्दा चलाएको आरोप लगाए। 'पार्टी र हाम्रा नेताविरुद्ध पहिल्यैदेखि नै प्रहार हुँदै आएको थियो। त्यसको हामीले प्रतिकार पनि गर्दै आयौं। तिनै व्यक्तिहरूले अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर गरेर अर्को षड्यन्त्र गरिएको छ। राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधेर नियतवश गरिएको छ। यसको प्रतिवाद र विरोध गर्छौं,' उनले भने।
उपाध्यक्ष ज्वालाले आफूहरू मुद्दाबाट नाभाग्ने बरु क्लिनचिट लिएर आउने बताए। 'हामी मुद्दाबाट भाग्दैनौं। सार्वजनिक सम्पत्ति र आर्थिक चलखेल नगरेका कारण पनि हामी अदालती प्रक्रियामा जान्छौं। अदालतबाट क्लिनचिट लिएर आउँछौं,' उनले भने।
उनले यस विषयमा कानुन व्यवसायीहरूसँग पनि छलफल गरिएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ण विवरण सार्वजनिक गरेपछि अदालती प्रक्रियामा जाने सुझाव आएको उपाध्यक्ष ज्वालाले बताए।
उनले यस मुद्दाले अन्य काण्डहरूका लागि पनि नजिर स्थापित हुने बताए। उनले षड्यन्त्र गर्नेहरू पनि एकदिन आफैंले खनेको खाल्डोमा पर्ने दाबी गरे। 'अहिले षड्यन्त्र गर्नेहरूका निम्ति पनि मुद्दा चल्ने नजिर स्थापित भएको छ। ठूला ठूला काण्डहरू छन्। त्यसमा अब कसैले पनि पार पाउनु हुँदैन। हामी यो अग्निपरीक्षामा उभिन्छौं,' उनले भने। अध्यक्ष नेपालले पनि संक्षिप्त प्रक्रिया दिँदै राजनीतिक प्रतिशोध साँधेको बताए। उनले भने, 'नबिराउनु, नडराउनु।'
प्रतिक्रिया