काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
यो उपभोक्ता मूल्यमा गरिएको गणना हो । गत आवको तुलनामा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ खर्ब ९८ रुपैयाँले बढ्ने अनुमान गरिएको हो । गत वर्ष जीडीपी ५७ खर्ब ९ अर्ब पुगेको संशोधित अनुमान छ । सुरुमा यसको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको थियो । यस्तै, आव २०७९–८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब थियो ।
गत आर्थिक वर्ष २०८०–८१ मा आर्थिक वृद्धिदर ३.३६ प्रतिशत रहेको संशोधित अनुमान छ । सुरुमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत भएको प्रारम्भिक अनुमान गरिएको थियो । कार्यालयले राष्ट्रिय लेखाको स्थिर मूल्यको अनुमान आव २०६७–६८ को मूल्यमा आधारित रहेर गणना गरेको हो । यसैगरी, आर्थिक वृद्धिदर स्थिर मूल्यमा मापन गरिएको हो ।
अर्कोतिर चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा आर्थिक वृद्धिदर ३.९९ प्रतिशत रहने अनुमान कार्यालयको छ । आधारभूत मूल्यमा आर्थिक वृद्धिदर आव २०८०–८१ मा ३.३६ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० मा २.२९ प्रतिशत आर्थिक वृद्धिदर पुगेको कार्यालयको भनाइ छ । उपभोक्ता मूल्यबाट हेर्दा आव २०८०–८१ मा मुलुकको आर्थिक वृद्धिदर ३.६७ प्रतिशत हुने अनुमान छ भने आव २०७९–८० मा १.९८ प्रतिशत कायम भएको छ । कार्यालयले जीडीपीको अनुमान दुई किसिमले गर्दै आएको छ । आधारभूत र उपभोक्ताको मूल्यका आधारमा जीडीपीको गणना हुँदै आएको हो । अहिले प्रकाशित अनुमान आव २०६७–६८ को मूल्यमा आधारित छन् ।
नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८–१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको थियो । यसको प्रकाशन नियमित रुपमा भने आव २०२१–२२ देखि गरिएको हो । चालु आवका राष्ट्रिय लेखाका प्रारम्भिक अनमुान तयार गर्दा उपलब्ध तथ्यांकको आधारमा ६ महिनादेखि नौ महिनासम्मका उपलब्ध आकँडा प्रयोग गरिएको र बाँकी तीन महिनाको अनुमानका लागि तथ्यांकीय विधि प्रयोग गरिएको हो ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ । गत आवमा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । यसैगरी, आव २०७९–८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको उल्लेख छ ।
चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.२५ प्रतिशत, ४.६५ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.३५ प्रतिशत, ऋणात्मक ०.०३ प्रतिशत र ४.३५ प्रतिशत रहेको छ । आव २०७९–८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.९७ प्रतिशत, १.३१ प्रतिशत र २.१९ प्रतिशत कायम भएको छ ।
चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.२ प्रतिशत, १२.४ प्रतिशत र ६२.४ प्रतिशत योगदान दिने संशोधित अनुमान छ । यसैगरी, आव २०७९–८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले क्रमशः २४.५ प्रतिशत, १३.० प्रतिशत र ६२.५ प्रतिशत योगदान दिएका छन् ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले औद्योगिक वर्गीकरणअनुसार सम्पूर्ण आर्थिक क्रियाकलापको अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण चौथो संस्करणअनुसार वस्तु तथा सेवा उत्पादनका क्रियाकलापलाई २१ वटा मुख्य क्रियाकलापमा वर्गीकरण गरिएको बताए । उनका अनुसार नेपालको सन्दर्भमा २१ वटा औद्योगिक क्रियाकलापमध्ये बाह्य संघसंस्था एवं यसका अंगका क्रियाकलापलाई छोडेर पछिल्ला तीनवटा आर्थिक क्रियाकलाप (कला, मनोरञ्जन तथा मनोविनोद; अन्य सेवा प्रदान गर्ने क्रियाकलाप; र रोजगारदाताका रूपमा घरपरिवारका घरायसी क्रियाकलाप, आफ्ना प्रयोगका लागि छुट्याउन नसकिने विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने क्रियाकलाप) लाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी जम्मा १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाका अनुमान प्रकाशन गरिएको छ ।
चालु आवमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । यस्तै, दोस्रोमा यातायात तथा भण्डार क्षेत्रको मूल्य अभिवृद्धि ९.४५ प्रतिशत छ । शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि १.९८ र खानी तथा उत्खनन्को १.९९ प्रतिशत छ । यो तुलनात्मक रूपमा सबैभन्दा कम मूल्य अभिवृद्धि रहने क्षेत्र बनेको छ । त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत र व्यापार क्षेत्रले १४.५५ प्रतिशत तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ । यस्तै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४२ प्रतिशत र खानी तथा उत्खनन् ०.४६ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेका छन् ।
४.१ कृषि, वन तथा मत्स्य
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी बाली तथा पशुपन्छीजन्य उत्पादन –दुध, अण्डा, माछा तथा मासु) हरुको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ । तर फलफूल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा नगण्य मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ ।
४.२ खानी तथा उत्खनन्
चालु आर्थिक वर्षमा यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ०.४६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ०.९१ प्रतिशत कायम भएको छ ।
४.३ उद्योग
चालु आर्थिक वर्ष २०८१–८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.०२ प्रतिशत) रहने अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि (–१.७० प्रतिशत) कायम भएको छ ।
यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा ऋणात्मक वृद्धिदर देखिए पनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ । खासगरी वनस्पति तेल, प्लाइउड, प्लाष्टिकको आर्थिक वर्षमा भने सुधारका संकेत देखिएका छ । खासगरी वनस्पति तेल, प्लाइउड, प्लाष्टिकका पाइप फिटिङ, पेय पदार्थ, सिमेण्ट, साबुन, लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइला लगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
४.४ विद्युत तथा ग्यास
चालु आर्थिक वर्ष २०८१–८२ मा विद्युत तथा ग्यास क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार यस क्षेत्रको वृद्धिदर १९.७६ प्रतिशत कायम भएको छ ।
४.५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१–८२ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सेवा माग र आपुर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मुल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर १.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार यस क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत कायम भएको छ ।
४.६ निर्माण
चालु आर्थिक वर्ष २०८१–८२ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरुको उत्पादनमा भएको वृद्धिले सुधारोन्मुख भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.२०%) रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.४८%) कायम भएको छ ।
४.७ थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा व्यापारजन्य वस्तुहरुको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–०.३६ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–४.१० प्रतिशत) कायम भएको छ ।
४.८ यातायात तथा भण्डारण
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.४५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर १३.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत कायम भएको छ ।
४.९ आवास तथा भोजन सेवा
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकको आवागमनमा भएको वृद्धिले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर २१.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत कायम भएको छ ।
४.१० सूचना तथा सञ्चार
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोग्रामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको छ ।
४.११ वित्तीय तथा बीमा क्षेत्र
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.६५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत कायम भएको छ ।
४.१२ घरजग्गा कारोबारको सेवा
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घरजग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ ।
४.१३ पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.९७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ ।
४.१४ प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ४.०४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशत कायम भएको छ ।
४.१५ सार्वजनिक प्रशासन तथा रक्षा
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीनवटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षा अन्तर्गत गरेको खर्चमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.४६ प्रतिशत कायम भएको छ।
४.१६ शिक्षा
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.८७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा निजि शैक्षिक संस्थाका विद्यार्थी संख्यामा सामान्य कमी आएको भए तापनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीको संख्यामा भएको बढोत्तरीसँगै यस क्षेत्रमा सरकारी खर्च बढेका कारण मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर २.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत भएको छ ।
४.१७ स्वास्थ्य तथा सामाजिक कार्य
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको संख्यामा भएको बढोत्तरीका कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ५.३१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत कायम भएको छ।
४.१८ अन्य सेवाका क्रियाकलाप
चालु आर्थिक वर्ष २०८१–८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीनवटै तहका सरकारले सामुदायिक तथा सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रबाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०–८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९–८० को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.६४ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया