(Monday , 21 April,2025)

पत्रकार रजकको मृत्युमा चौतर्फी विरोध

mountainejournal.com

mountainejournal.com

काठमाडौं– राजावादी आन्दोलनका क्रममा राजधानीमा शुक्रबार भएको घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएकोमा चौतर्फी विरोध भएको छ । रजक एभिन्यूज टेलिभिजन कार्यरत थिए । काठमाडौंको तिनकुनेमा राजावादी आन्दोलन हिंशामा बदलिए पछि एउटा घरमा लागो लागेको थियो । पत्रकार रजक त्यही घरभित्र बसेर भिडियो खिचिरहेका थिए । त्यही उनको जलेर मृत्यु भएको हो । शुक्रबारको घटना एक जना प्रर्दशनकारीको पनि मृत्यु भएको थियो ।

मिडिया एलायन्स नेपालले यो घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ । ‘सरकारको अधिनायकवादी दृष्टिकोण र आन्दोलनकारीको अराजक व्यवहारले यो घटनालाई जन्म दिएको छ । जसको मिडिया एलायन्स नेपाल घोर निन्दा गर्दछ,’ शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ । एलायन्सको शनिबार बसेको बैठकले यो घटनामा सरकारसँग मुख्य रुपमा तीन वटा माग राखेको छ ।

पहिलो घटनाबारे सत्यतथ्य पत्ता लगाउन निष्पक्ष रुपमा छानविन गर्ने छ भने दोस्रो माग पत्रकार रजकलाई सहिद घोषणा गर्नु पर्ने राखिएको छ । यस्तै तेस्रो मृतकका परिवारलाई उचित राहत तथा सहयोग गर्नुपर्ने माग राखिएको हो । यसैगरी नेपाल पत्रकार महासंघले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ ।

महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्‍याएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ । समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ ।

उक्त समितिका सदस्यहरुमा महासंघका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा महासंघले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ ।

महासंघले शुक्रबार भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा शनिबार देशव्यापी विरोध प्रदर्शन समेत गरेको छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal