काठमाडौँ । नेपालको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन सक्ने वैकल्पिक बालीका रूपमा भाङ्ग (हेम्प) खेतीलाई पहिचान गरिएको छ । ‘जर्नल रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी रिभ्यूज’मा प्रकाशित अध्ययनले देशभर १८ लाख हेक्टर जमिनमा भाङ्ग खेती सम्भव हुने देखाएको हो । पूर्वाञ्चल क्याम्पस, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा अमेरिकाको अबर्न विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका सागर काफ्ले नेतृत्वको अध्ययनले नेपालमा भाङ्ग खेतीबाट उच्च आयआर्जन गर्न सकिने निष्कर्ष निकालेको हो ।
अध्ययनले भौगोलिक अवस्था, माटोको गुणस्तर, जलवायु र पूर्वाधारका आधारमा भाङ्ग खेतीका लागि करीब २.८ लाख हेक्टर जमिन उपयुक्त रहेको जनाएको छ । प्रति हेक्टर खेतीमा ३ हजार १७७ अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ भने प्रतिफल १० हजार ४५० डलरसम्म पुग्ने देखिएको छ। यसरी प्रति हेक्टर ७ हजार २७३ डलर नाफा हुने अध्ययनले देखाएको छ ।
टेक्सास ए एण्ड एम विश्वविद्यालयका अनुसन्धानकर्ता पुरुषोत्तम ज्ञवालीका अनुसार नेपालमा अन्य देशहरूको तुलनामा सस्तो उत्पादन लागतका कारण भाङ्ग लाभदायक बाली बन्न सक्छ । अध्ययनले पहाडी क्षेत्रमा ७१ प्रतिशत, तराईमा २८प्रतिशत र हिमाली क्षेत्रमा १ प्रतिशत भाङ्ग खेतीको सम्भावना देखाएको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको देखिएको छ, त्यसपछि लुम्बिनी प्रदेशको स्थान छ । अबर्न विश्वविद्यालयका प्रा. डा. सुशील अधिकारीका अनुसार भाङ्गको बायोमासबाट ४१ लाख टन ठोस इन्धन र १५ करोड लिटर जैविक डिजेल उत्पादन गर्न सकिन्छ, जसले नेपालमा वार्षिक खपत हुने ऊर्जा र डिजेलको क्रमशः १० प्रतिशत र ८ प्रतिशत पूर्ति गर्न सक्छ । नेब्रास्का विश्वविद्यालयका अनुसन्धानकर्ता डिल्लीराम भट्टराईका अनुसार भाङ्ग खेतीले माटोको उर्वरता सुधार गर्ने, जल संरक्षण गर्ने र कार्बन शोषणमा योगदान पु¥याउने देखिएको छ । कम रसायनिक मल प्रयोग हुने भएकाले जैविक विविधता संरक्षणमा पनि भाङ्ग खेती लाभदायक हुने उनको भनाइ छ ।
प्रतिक्रिया