(Monday , 21 April,2025)

जलवायु परिवर्तनको उच्च जोखिममा बाख्रापालक

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपालका बाख्रापालक र गाईपालक किसान अधिक संख्यामा जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको एक सरकारी अध्ययनले देखाएको छ। राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले हालै गरेको अध्ययनअनुसार बाख्रापालनमा संलग्न ५ लाख घरधुरी किसान जलवायु परिवर्तनको अत्यधिक जोखिममा छन् । बाख्रापालन गर्ने १० लाख घरधुरी किसान अधिक जोखिममा र त्यत्ति नै घरधुरी किसान मध्यम जोखिममा रहेको अध्ययनले देखाएको छ। यो केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको संस्था हो। 

त्यसैगरी गाईपालन गर्ने भने ३ लाख घरधुरी किसान अत्यधिक जोखिममा छन् । १० लाख घरधुरी किसान अधिक जोखिममा छन् भने थप १० लाख घरधुरी किसान मध्यम जोखिम छन् ।  'पशुपालनमा जलवायु परिवर्तनको असर भन्नाले जस्तै अहिले हिमाली भेगमा पनि पहिलाको तुलनामा तापक्रम बढिरहेको छ जसले गर्दा चौरीको दूध उत्पादनमा कमी आएको हाम्रो प्रारम्भिक अध्ययनमा देखाएको छ,' अध्ययनमा संलग्न केन्द्रका वैज्ञानिक डा. रोशनबाबु ओझाले मंगलवार आयोजित एक कार्यक्रममा भने । उनका अनुसार किसानको तहमा अझै पनि जलवायु अनुकूलताको प्रविधि पुग्न नसक्दा जोखिम बढेको हो ।' 

तुलनात्मक रूपमा बाख्रा र गाईपालन गर्ने किसानको तहमा अनुकूलनको प्रविधि कम पुगेको कारण उनीहरू बढी जोखिममा परेका हुन् । तर, भैंसीपालक किसान अधिक रूपमा मध्यम जोखिम र कम जोखिममा छन् । धान र गहुँखेती गर्ने घरपरिवार अत्यधिक र अधिक जोखिममा त्यति धेरै नभए पनि मध्यममा जोखिम बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

जलवायु परिवर्तनको मात्रा हरेक वर्ष बढ्‌दै जाँदा त्यसले कृषि उत्पादनमा समेत असर पार्ने अध्ययनले बताएको छ । तराईमा उत्पादन हुने बाली वा फलफूल अहिले पहाडी क्षेत्रमा समेत उत्पादन हुन थालेका छन् 

समयभन्दा अगावै आँपमा फूल लाग्नु, तराईमा फल्ने फल पहाडमा समेत फल्नु, पहाडमा फल्ने बाली तराईमा समेत उत्पादन हुनु सबै जलवायु परिवर्तनको प्रकोपका कारण भएको अध्ययनमा उल्लेख छ । यसले गर्दा उत्पादन घट्ने सम्भावना अत्यधिक हुने अर्का कृषि वैज्ञानिक डा. ध्रुवराज भट्टराईले जानकारी दिए। 

तापक्रम बढ्दा त्यसको सबैभन्दा धेरै असर तराई क्षेत्रमा परेको अध्ययनको निष्कर्ष छ। 'किनभने १/२ डिग्री सेल्सियस मात्रै तापक्रम बढ्दा पनि त्यसले तुलनात्मक कम तापक्रममा उब्जनी हुने बालीनाली उत्पादनमा ठूलो असर पार्न सक्ने खतरा छ,' भट्टराईले भने। उनका अनुसार बढ्‌दो जलवायु परिवर्तनको असरका कारण यस वर्षको हिउँदमा तुलनात्मक रूपमा कम वर्षा भयो। 'यसले गर्दा यसपटकको हिउँदेबालीमा ३० प्रतिशतसम्म उत्पादन घट्न सक्ने अनुमान गरिएको छ,' उनले बताए । 

अध्ययन प्रतिवेदनअनुसार नेपालमा जलवायुजन्य प्रकोप प्रत्येक वर्ष १७ प्रतिशतले वृद्धि हुँदै गएको पाइएको छ । केन्द्रका अनुसार जलवायु अनुकूलन नक्सांकनको प्रारम्भिक अध्ययनको नतिजाअनुसार सन् १९७० यता नेपालमा हरेक वर्ष जलवायुजन्य प्रकोप १७ प्रतिशतका दरले बढ्दै गएको देखिएको हो। 

यो दर सन् २००० यता अझ तीव्र गतिमा वृद्धि भइरहेको उक्त अध्ययनले दाबी गरेको छ। अध्ययनअनुसार जलवायु परिवर्तनका कारण नेपालमा वर्षेनि ० दशमलव शून्य ६ डिग्री सेल्सियस दरले तापक्रम बढिरहेको छ भने १६ दशमलव शून्य ९ मिलमीटरका दरले वर्षा घटिरहेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal