काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति पुगेका सडक तथा पुलका २६ आयोजना पुननिर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही फागुन ४ मा माग गरे अनुरुप अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार ती आयोजना पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् । स्रोत सहमति दिएका २६ आयोजनामध्ये १३ वटा आयोजना सडकका र बाँकी १३ वटा पुल पुननिर्माणसँग सम्बन्धित छन् ।
सडक पुननिर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुननिर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।
प्रतिक्रिया