काठमाडौँ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व संकलन २० प्रतिशतले बढेको छ । गत वर्ष (२०८०–८१ ) को साउन ३० सम्ममा ७३ अर्ब ६९ करोड रुपैयाँ राजस्व असुली भएकामा यो वर्ष साउन ३० सम्म ८८ अर्ब ८६ करोड उठेको छ । यो गत वर्षको तुलनामा २०.५८ प्रतिशतको सुधार हो । सरकारले राखेको वार्षिक लक्ष्य पनि गत वर्षभन्दा झण्डै एक प्रतिशतले अहिले बढेको छ ।
गत वर्षभरमा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व असुली गरेको सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब रुपैयाँ लक्ष्य राखेको छ । यो गत वर्ष असुली भएको राजस्वको तुलनामा ३४ प्रतिशत बढी हो । सरकारले चालु आवमा राजस्व संकलनमा राखेको लक्ष्यअनुसार साउनमा असुली भएको छैन । तर, गत आवको तुलनामा २० प्रतिशतको सुधार भएकाले धेरै नराम्रो मान्न सकिँदैन । गत आवमा भन्दा राजस्व संकलन सुधारोन्मुख देखिएको छ ।
सरकारले पछिल्ला तीन वर्षमा राजस्व संकलनको लक्ष्य झण्डै उस्तै राखेको छ । गत आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याउँदा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । यस्तै, चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गर्दा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । आव २०७९–८० मा पनि राजस्व असुलीको लक्ष्य १४ खर्ब ३ अर्ब राखिएको थियो । तर, राजस्व असुली भने आव २०७९–८० मा ९ खर्ब ५७ अर्ब र गत आवमा १० खर्ब ५८ अर्ब रुपैयाँ भएको छ ।
चालु आवमा राजस्व असुलीको अवस्था कस्तो हुन्छ अहिले नै भन्न सक्ने स्थिति छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन ३० सम्ममा ८८ अर्ब ८६ करोड रुपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ६.२६ प्रतिशत हो भने गत वर्ष साउनको भन्दा १५ अर्ब १७ करोड बढी हो ।पछिल्लो समय आन्तरिक उत्पादन वृद्धि भएकाले अर्थतन्त्रमा सुधार आउँदा राजस्व संकलन पनि बढेको अर्थ मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी युवराज बस्नेतले जानकारी दिए ।
उनका अनुसार यो वर्षको वार्षिक लक्ष्यलाई हेर्दा धेरै राजस्व असुली भएको छैन । गत वर्षको भन्दा पनि धेरै अन्तर छैन, तर पनि राजस्व संकलन सकारात्मक भएको उनले बताए । राजस्व संकलनको पहिलो महिना साउनको अवस्थालाई हेर्दा वार्षिक लक्ष्यको नजिक पुग्ने संकेत देखिएको उनको भनाइ छ । बस्नेतका अनुसार संसद्का दुई ठूला दल मिलेर सरकार बनाएपछि स्थिरताको सन्देश गएको र यसले आन्तरिक लगानी बढ्ने आशा जागेको छ । लगानीमा वृद्धि भएपछि राजस्व पनि बढ्ने उनले बताए ।
गत वर्ष सरकारले वार्षिक राजस्व संकलनको लक्ष्य १४ खर्ब २२ अर्ब लिएकामा १० खर्ब ५८ अर्ब रुपैयाँ असुली गरेको थियो । यो वार्षिक लक्ष्यको ७४.४४ प्रतिशतमात्र हो । साउन महिनाको राजस्व असुली २० प्रतिशतले बढेकाले चालु आवमा ८० देखि ८५ प्रतिशतसम्म राजस्व उठ्ने अनुमान गर्न सकिन्छ । सरकारले यो वर्ष ५२ अर्ब रुपैयाँ वैदेशिक अनुदान ल्याएको भने पनि साउनमा एक पैसा आएको छैन ।
सरकारले चालु आवमा राजस्व असुलीमा मात्र सुधार ल्याएको होइन । पुँजीगत खर्च पनि बढाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन ३० सम्ममा पुँजीगत बजेट खर्च ५ अर्ब रुपैयाँ माथि पुगेको छ ।
गत वर्ष साउन ३० सम्ममा पुँजीगत खर्च वार्षिक लक्ष्यको जम्मा ०.२१ प्रतिशतमात्र भएको थियो । चालु आवको सोही अवधिमा वार्षिक लक्ष्यको २.१३ प्रतिशत खर्च भइसकेको छ । गत वर्ष सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये साउन ३० सम्म ६२ करोड ३६ लाख रुपैयाँमात्र खर्च भएको थियो । चालु आवमा सरकारले पुँजीगत बजेटमा ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये साउन ३० सम्ममा ७ अर्ब ५१ करोड १० लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको तुलनामा यो ६ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ बढी हो ।
यस्तै, सरकारले साउनमा वित्तीय व्यवस्थापनमा १९ अर्ब २७ करोड खर्च गरेको छ । यसको बजेट भने ३ खर्ब ६७ अर्ब रुपैयाँ हो । चालु आवमा ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्चमा विनियोजन गरेको सरकारले साउन ३० सम्ममा ९ अर्ब १५ करोडमात्र खर्च गरेको छ । यो लक्ष्यको एक प्रतिशतभन्दा पनि तल हो ।
प्रतिक्रिया