काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँ बढाएको हो । यसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउनेछन् । गत वर्ष सरकारले अघिल्लो वर्षभन्दा प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर उखुको मूल्य तोकेको थियो । गत वर्ष चिनी उद्योगले प्रतिक्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्ने निर्णय भएको थियो भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिएको थियो ।
सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
प्रतिक्रिया