(Sunday , 10 May,2026)

दुई सातामै प्रतितोला ११ हजार घट्यो सुनको भाउ

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि ओरालो लागेको छ । नेपाली बजारमा पनि यसको असर परेको छ ।

पछिल्लो दुई सातामै सुन प्रतितोला ११ हजार रुपैयाँ घटेको छ । इजरायल–हमास युद्धका कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण नभएको भन्दै विश्वका लगानीकर्ता सुनमा आकर्षित भएका कारण सुनको मूल्य २ लाख रुपैयाँसम्म पुग्ने अनुमान व्यवसायीले गरेका थिए । तर, ट्रम्प निर्वाचित भएदेखि नै सुनको मूल्य निरन्तर ओरालो लागेर बिहीबार १ लाख ६० हजार रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सातामा सुन प्रतितोला ११ हजार रुपैयाँ घटेको छ । कात्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुन घटेर बिहीबार (कात्तिक २९) मा १ लाख ६० हजारमा झरेको छ । १४ दिनमा प्रतितोला ११ हजार रुपैयाँ घटेको हो । बिहीबार एकै दिन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको हो ।

युद्धका कारण अन्य औद्योगिक क्षेत्रमा लगानी गर्दा असुरक्षित हुने देखेपछि लगानीकर्ता सुनमा बढी आकर्षित हुँदा सुनको माग तीव्र बढेको व्यवसायीको भनाइ थियो । राष्ट्रपति निर्वाचनमा ट्रम्पले आर्थिक सुधार गर्न विश्वमा भइरहेको युद्ध अन्त्य गर्ने वातावरण बनाउने मुख्य मुद्दा बनाएको हुँदा उनी निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन् । ट्रम्प निर्वाचन भएकै दिन सुनको मूल्य प्रतिऔँस ७६ डलर घटेको उनले जानकारी दिए । ट्रम्पले इजरायल–हमास युद्ध रोक्ने वातावरण बनाउने बताएकाले लगानीकर्ता सुनमा लगानी गर्न छोडेर अन्य क्षेत्रमा मोडिएकाले मूल्य ओरालो लागेको शाक्यको भनाइ छ । सुनको मूल्य अझै घट्ने उनले बताए । नेपाली बजारमा सुन प्रतितोला १ लाख ५० हजारसम्म झर्ने अनुमान शाक्यको छ ।

महासंघको तथ्यांकअनुसार कात्तिक १५ मा सुनको कारोबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा भएको थियो । त्यसको केही दिन यो मूल्य स्थिर रह्यो । कात्तिक २० गते १ लाख ७१ हजार रुपैयाँबाट घटेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै २१ गते प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फेरि २२ गते घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भयो । केही दिन यो मूल्य तलमाथि भयो । कात्तिक २८ र २९ गते भने ह्वात्तै घटेर १ लाख ६० हजारमा झरेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal