(Tuesday , 13 May,2025)

खाद्यले बेच्न सुरु गर्‍यो खसीबोका र च्यांग्रा

mountainejournal.com

mountainejournal.com

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट दशैंका लागि खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । विगतमा खाद्यले घटस्थापनादेखि बिक्री सुरु गथ्र्यो । तर, यो वर्ष वर्षा र बाढीपहिरोका कारण केही दिन ढिलो भएको हो ।

खाद्य कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाका अनुसार आज (आइतबार) बिहान ८ बजेदेखि खसीबोका र च्यांग्रा बिक्री सुरु हुनेछ । खसीबोकाको मूल्य १० रुपैयाँ छुट दिएर प्रतिकिलो ६६० रुपैयाँ तोकिएको छ भने च्यांग्रामा पनि १० रुपैयाँ छुट दिइएको छ । च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय २० रुपैयाँ तोकिएको छ ।

खसीबोकाको मूल्य गत वर्षको जति नै कायम भएको छ । च्यांग्रा ३० रुपैयाँ सस्तो भएको छ । गत वर्ष च्यांग्रा बिक्री नभएर लामो समय पाल्नुपरेको हुँदा यो वर्ष मूल्य केही कम गरिएको कम्पनीले बताएको छ । यो वर्ष च्यांग्रा आयात पनि कम हुनेछ । गत वर्ष कम्पनीले ५ सय ४२ वटा च्यांग्रा ल्याएको थियो । तीमध्ये समयमा बिक्री नभएर २० वटा मरेका थिए ।

कम्पनीले यो दशैंका लागि १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा विभिन्न जिल्लाबाट खरिद गरी काठमाडौंमा ल्याउने निर्णय गरेको थियो । यसमध्ये १ हजार ४ सय वटा खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् । च्यांग्रा भने ३ सय वटा आइतबारसम्म काठमाडौंमा आइपुग्ने उनले बताइन् । बाढीपहिरोले सडक अवरुद्ध भएका कारण शनिबारसम्ममा २ सय ८ वटामात्र खसीबोका काठमाडौं आइपुगेको उनले जानकारी दिइन् । अरु खसीबोका र च्यांग्रा बाटोमै छन् ।

कम्पनीले वीरगञ्जमा खरिद गरेका ५ खसीबोका मध्ये २ सय ८ वटा काठमाडौं ल्याइपुर्‍याइएको हो । कम्पनीले वीरगञ्जबाट ५ सय, दाङबाट ४ सय र नवलपरासीबाट ५ सय खसीबोका खरिद गरेको छ । यस्तै, मुस्ताङबाट ३ सय च्यांग्रा खरिद गरिएको छ । दशैंका लागि भनेर मुस्ताङबाट काठमाडौं ल्याउनका लागि ७ दिनअघि हिँडाए पनि बाटोको समस्याले गर्दा शनिबारसम्म २ सय ८ वटा खसीबोकामात्र आइपुगेको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।

कम्पनीले यो दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न ३ करोड ६९ लाख बजेट छुट्याएको छ । गत वर्ष यसका लागि ८ करोड ३३ लाख छुट्इयाएको थियो । यो बजेटमा ३ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य थियो । यो वर्ष कम्पनीले गत वर्षको तुलनामा ४ करोड ६४ लाख रुपैयाँ बजेट घटाएको छ भने खसीबोका र च्यांग्रा खरिद गर्ने कोटा पनि घटाएको छ । कम्पनीले गत वर्ष दशैंलाई ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार २०१ मात्र ल्याएको थियो ।

कम्पनीका अनुसार गत वर्ष दशैंका लागि ल्याएका ३१ वटा खसीबोका मरेका थिए । यस्तै, ५ सय ४२ वटा च्यांग्रा ल्याएकोमा २० वटा मरेका थिए । गत वर्ष दशैंका लागि ल्याएका खसीबोका र च्यांग्रा बिक्री नभएर मरेको हुँदा यस पटक १८ सयमात्र ल्याउने योजना कम्पनीले गरेको थियो । यसमा पनि १ सय वटा खसीबोका घटाएर १७ सयमात्र खरिद गरेको छ । कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएकोमा २ करोड ४९ लाख रुपैयाँका खसीबोका र १ करोड ३० लाखका च्यांग्रा खरिद गर्न छुट्याएको छ ।

गत वर्ष कम्पनीले दशैंलाई लक्षित गरी ल्याएका च्यांग्रा बिक्री नहुँदा लामो समयदेखि व्यापार कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयको खोरमा राख्नुपरेको थियो । त्यसक्रममा च्यांग्रामाथि कुकुरले आक्रमणसमेत गरेका थिए । कम्पनीले दशैंका लागि ५ सय ४२ वटा च्यांग्रा खरिद गरी ल्याएको थियो । तीमध्ये दशैंमा २६४ वटा बिक्री भएका थिए भने बिक्री हुन बाँकी २७८ वटा च्यांग्रा कम्पनीले कार्यालयमै खोरमा राखेको थियो ।

कार्यालयले दशैंमा निर्धारण गरेको मूल्यमा च्यांग्रा बिक्री नभएपछि पटक पटक नयाँ मूल्य निर्धारण गरी बिक्री गरेको थियो । सुरुमा च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २६० रुपैयाँ निर्धारण गरिएको थियो, जसमा १० प्रतिशत छुट दिएर १ हजार २५० रुपैयाँमा बिक्री गरिएको थियो ।

च्यांग्रा बिक्री नहुँदा पहिलो पटक कात्तिक ३ गते मूल्य संशोधन गरी प्रतिकिलो १ हजार २२५ रुपैयाँ निर्धारण गरी बिक्री गरेको थियो । सो मूल्यमा पनि च्यांग्रा बिक्री नहुँदा बजार मूल्य अध्ययन गरी कात्तिक १० गते प्रतिकिलो ७५ रुपैयाँ घटाएर १ हजार १५० रुपैयाँ निर्धारण गरिएको थियो । फेरि पनि च्यांग्रा बिक्री नभएपछि कम्पनीले पुस १ गते प्रतिकिलो २५ रुपैयाँ घटाएर १ हजार १२५ रुपैयाँ मूल्य निर्धारण गरी च्यांग्रा बिक्री गरेको थियो ।

खाद्य कम्पनीले हरेक वर्षको दशैंतिहारलाई लक्षित गरी खसीबोका र च्यांग्रा विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंमा बिक्री गर्दै आएको छ । चाडपर्वमा व्यापारीले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई मध्यनजर गर्दै बजारमा मूल्य हस्तक्षप गर्ने उद्देश्यले विगत लामो समयदेखि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा बिक्री गर्ने गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal