काठमााडौँ । तीन वटा पेट्रोलियम परियोजना भारतको १५ अर्ब रुपैयाँ अनुदान लगानीमा निर्माण गर्ने सम्झौता भएको छ । नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)बिच बिहीबार दिउँसो दिल्लीमा उक्त सम्झौता भएको हो । पेट्रोलियम पाइपलाइन परियोजना भारतको १५ अर्ब अनुदान लगानीमा गर्ने सम्झौता भएपछि निगमलाई पाइलाइन निर्माणको कामअघि बढाउन बाटो खुलेको छ ।
डेढ वर्षअघि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको सिलगुढीदेखि झापाको चारआली र चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको थियो । तर, दुई देशका प्रधानमन्त्री बीच पाइलाइन निर्माण गर्ने सम्झौता भए पनि भारतले अनुदानमा निर्माण गर्ने किन ऋण अनुदान भन्ने प्रष्ट नहुँदा सम्झौता भएको डेढ वर्षसम्म निर्माणका काम अघि बढ्न सकेको थिएन् ।
नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजालका अनुसार भारतको १५ अर्ब लगानीमा तीन वटा पेट्रोलियम परियोजना गर्न सम्झौता भएको छ । भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको क्mबचत ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।
यस्तै नेपालको अमलेखगंजवाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना र चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोग नेपाल आयल निगमको लगानीमा निर्माण हुने प्रवक्ता रिजालले जानकारी दिए ।
गत जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको सम्झौताअनुसार ६ महिनाभित्र पाइलाइन निर्माण गर्न सबै गृहकार्य सुरुवात गर्ने भनिएको थियो । तर, त्यो सम्झौतामा भारत सरकारले पाइलाइन निर्माणमा लगानी गर्ने भनेता पनि लगानी ऋण हो वा अनुदानमा हो प्रष्ट भने पारेको थिएन् ।
दूई प्रधानमन्त्री बिच भएको सम्झौतामा अनुदान र ऋण लगानीमा प्रष्ट नहुँदा निर्माणको गृहकार्य अघि बढाउन नसकेको निगमले जनाएको छ । अनुदान लगानी गर्ने सम्झौता पछि अब निर्माणको गृहकार्य अघि बढ्ने निगमका प्रवक्ता रिजालले जानकारी दिए । निगमका अनुसार काम अघि बढाउन निगम र आईओसीबीच कति क्षमताको पेट्रोलियम भण्डारण बनाउने लगायतका डीपीआरको अधिकांश काम भइसकेको छ ।
सन् २०२० मा पाइपलाइन निर्माणका लागि गरेको एक अध्ययनअनुसार तीन वटा परियोजना करिब १७ अर्ब २ करोडमा सकिनेछन् । यसैगरी परियोजनाको गृहकार्य सुरुवात गरेको साढे ४ वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भारतको सिलगुढीदेखि झापासम्म पाइपलाइन निर्माण गर्न २ अर्ब ८८ करोड भारतीय रुपैयाँ लगानी लाग्नेछ ।
यस्तै, अमलेखगञ्जदेखि चितवनको लोथरसम्म २ अर्ब ७४ करोड लाग्ने अध्ययनले देखिएको छ । यस्तै, झापामा निर्माण हुने ग्रिन टर्मिनल फिल्डमा ५ अर्ब २ करोड रुपैयाँ भारतीय रुपैयाँ खर्च हुनेछ । निगमका अनुसार तीन परियोजनामा गरी नेपाली १७ अर्ब २ करोड रुपैयाँ खर्च लाग्नेछ । नेपालले आफ्नो लगानीमा निर्माण गर्ने चितवन ग्रीन टर्मिनल फिल्डका लागि ९ अर्ब ८८ करोड रुपैयाँ खर्च हुनेछ ।
यसअघि रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण भारतीय पक्षले करिब २ अर्ब ७५ करोड भारतीय रुपैयाँमा निर्माण गरेको थियो । यो पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर डिजेल आयात हुने गरेको छ । पाइपलाइनबाट डिजेल आयात गर्दा नेपाललाई ढुवानी भाडामा जाने वार्षिक करिब २ अर्ब बचत हुने निगमको भनाइ छ।
सम्झौता भएका परियोजना सम्पन भई सञ्चालनमा आउँदा पेट्रोलियम ढुवानीमा खर्च हुने वार्षिक १ अर्ब बचत हुने निगमको अनुमान छ। हाल निगमले भारतबाट काठमाडौंसम्म प्रतिलिटर पेट्रोल आयात गर्दा ढुवानी खर्च साढे ६ रुपैयाँ पर्ने गरेको छ । पाइपलाइनबाट पेट्रोल आयात हुँदा प्रतिलिटर ३ रुपैयाँ ढुवानी खर्च बचत हुनेछ ।
प्रतिक्रिया