(Monday , 01 June,2026)

सहकारीमा सवा करोड, पाँच लाख नपाउँदा गयो ज्यान

mountainejournal.com

mountainejournal.com

काठमाडौं– सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा एक व्यक्तिले ज्यान गुमाएका छन् । वीर अस्पतालमा पाँच लाख रुपैयाँको अभावले राजेन्द्र बज्राचायको शनिबार मृत्यु भएको आफन्तले बताएका छन् ।

सहकारीमा १ करोड ३६ लाख रुपैयाँ हुँदा पनि उपचारका लागि त्यो पैसा प्रयोग गर्न नपाएर उनको मृत्यु भएको आफन्तको भनाइ छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय सहासंघका अध्यक्ष कुशवल केसीका अनुसार राजेन्द्रलाई केही दिनअघि मष्तिस्कघात भएको थियो । उनलाई उपचारका लागि वीर अस्पताल लगिएकोमा डाक्टरले उपचारका लागि ५ लाख रुपैयाँ आवश्यक पर्ने बताएका थिए ।

स्थापितको युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ३६ लाख रुपैयाँ थियो । सहकारीका अध्यक्ष किसन राईसँग उपचारका लागि ५ लाख माग्दा नदिएपछि अपरेसन हुन नसकेर स्थापितको मृत्यु भएको अध्यक्ष केसीले बताए ।

स्थापित काठमाडौं महानगरपालिका–३१ शंखमूलका स्थायी बासिन्दा हुन् । ७२ वर्षीय स्थापितका श्रीमती छिन्, तर सन्तान छैनन् । श्रीमतीले चार वर्षअघि नेपाल बैंकको अधिकृत तहबाट अवकास पाएकी थिइन् । स्थापितले केही वर्षअघि बानेश्वरमा किराना पसल सञ्चालन गर्थे । पछिल्लो समय उनले पसल पनि चलाउन छोडेका थिए । सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै उनी आन्दोलनमा सहभागी थिए । अध्यक्ष केसीका अनुसार बिरामी हुनु अघिसम्म स्थापित शान्तिबाटिकामा धर्ना पनि बसेका थिए । सहकारी पीडितहरुले उक्त स्थानमा धर्ना गरेको ८० दिन भइसकेको छ ।

सहकारीमा करोड बढी पैसा भएर पनि उपचार गर्ने बेला ५ लाख नहुँदा ज्यान गुमाउनुमा राज्य नै जिम्मेवार भएको अध्यक्ष केसीले बताए । ‘लामो समयदेखि बचत फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित हुँदा पनि राज्यले सुनेन । पैसा भएर पनि प्रयोग गर्न नपाएर मृत्युवरण गर्नुपरेको छ,’ उनले भने, ‘यसको जिम्मा राज्यले लिनुपर्छ । उहाँको श्रीमतीले अब काजकिरिया पनि सडकमै गर्नुहुन्छ । राज्यले उहाँको पैसा फिर्ता नदिलाएसम्म आन्दोलन र धर्ना जारी रहन्छ ।’

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले पैसा भएर पनि उपचार नपाई सहकारी बचतकर्ताको मृत्यु हुनु दुःखद् भएको बताए । बचतकर्ताको रकम फिर्ता गर्न सहकारी विभागले नीतिगत विषयमा काम गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘यस्ता घटना हुन नदिन विभागले नीतिगत रुपमा काम गर्ने भनेको बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण स्थापना गर्ने विषय छ । गत वर्ष बजेट हुँदा यी काम अघि बढ्न सकेनन् । चालु आवमा बजेट छुट्याइएको छ । अहिले विभागले काम गरिरहेको छ ।’

सहकारी बचतकर्ताहरु लामो समयदेखि आन्दोलित छन् । सहकारी पीडितले आइतबार नक्कली शव बनाएर शान्तिबाटिका हुँदै सहिद गेटबाट परिक्रमा गराएर सांकेतिक विरोधसमेत गरेका थिए । प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषद् संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरो संयोजक रविन्द्रकुमार श्रेष्ठसहितको सहभागिता थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधेर नक्कली शवको बाकस बोकेका थिए ।

सहकारी ठग्ने सञ्चालकलाई कारबाहीको माग गरेर यसअघि नयाँ बानेश्वरस्थित सहकारी विभागमा पनि उनीहरुले धर्ना दिएका थिए । शान्ति बाटिकामा धर्ना सुरु भएको पनि ८० दिन भइसकेको छ । माग पूरा नहुँदासम्म धर्ना जारी रहने उनीहरुको भनाइ छ । पीडितहरुका अनुसार ५ सयभन्दा बढी सहकारी बचतकर्ताको बचत फिर्ता नगरेर भागेका छन् । करिब ६४ अर्ब रुपैयाँ साँवा सहकारीले फिर्ता दिनु पर्नेछ । देशभर ७४ लाख सहकारीमा बचतकर्ता छन्, जसमा १४ लाख पीडित छन् ।

यसअघि सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता नगरेपछि पीडितले ६३ दिन लामो आन्दोलन गरेका थिए । गत साउन १८ गते सरकारसँग भएको ७ बुँदे सम्झौतापछि पीडितले आन्दोलन फिर्ता लिएका थिए । तर, सम्झौता कार्यान्वयन नभएपछि गत फागुन ६ गतेबाट काठमाडौंमा धर्ना सुरु गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal