काठमाडौँ । प्रत्येक वर्षजसो बढ्दै आएको चामल आयात पछिल्ला चार वर्षदेखि अस्वाभाविक रुपले घट्दै आएको छ । आर्थिक वर्ष २०७७–७८ मा १३ लाख ३४ हजार टन चामल आयात भएको थियो । यसको चार वर्ष पछि गत आव (२०८०–८१) मा चामल आयात ४ लाख ९ हजार टनमा झरेको छ । यो ६९ प्रतिशतको गिरावट हो ।
भन्सार विभागका अनुसार पछिल्ला चार वर्षमा चामल आयात क्रमशः घटदै आएको हो । आव २०७८–७९ मा चालम आयात ११ लाख ३० हजार टन भएको थियो । यो त्यसअघिको वर्षका तुलनामा २ लाख ४ हजार टन कम हो भने १५. २९ प्रतिशतको गिरावट हो । यस्तै आव २०७९–८० मा चामल आयात ७ लाख ९६ हजार टनमा झरेको छ । यो त्यसअघिको आवका तुलनामा ३ लाख ३४ हजार टन कम हो भने करिव ३० प्रतिशतको गिरावट हो ।
यस्तै गत आवमा चामल आयातमा झनै गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत वर्ष चामल ३ लाख ८७ हजार टन कम भएको छ । यो करिव ४९ प्रतिशतको गिरावट हो ।
चामल आयात उच्च दरले घट्नुमा पहिलो कारण चोरीपैठारी हो । यो वर्ष आयातमा कमी आउनुमा भारतले केही महिना चामल निर्यातमा लगाएको प्रतिबन्ध पनि एउटा कारण हो । चामल आयातमा कमी आए जसरी मुल्य पनि घट्दै आएको छ । चार वर्ष अघि आव २०७७–७८ मा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो । त्यस पछिका वर्षहरुमा क्रमशः ५० अर्ब ४७ करोड र ३६ अर्ब ६६ करोडको चामल आएको छ । गत आवमा २२ अर्ब २३ करोड रुपैयाँको चामल खरिद गरिएको छ ।
अर्कोतिर यही अवधिमा धान उत्पादनमा भने सामान्य रुपमा फेरबदल भएको छ । तर, आयातको यति ठूलो खाडल चिर्ने गरेर धान उत्पादन बढ्ने घटने भएको छैन । यस्तै मुलुक भित्र आन्तरिक उपभोगमा पनि कमी आएको छैन । गत वर्ष नेपाल आउने पर्यटकको संख्या बढेको छ । पर्यटक आगमन बढ्दा झनै चामल खपत बढ्नुपर्ने हो । धान उत्पादन धेरैले वृद्धि नहुनु, उपभोगमा कमी नआउनु तर चामल आयात अस्वाभाविक रुपमा घट्नुले शंका पैदा गराएको छ ।
आयातमा गिरावट देखिए पनि नेपाली बजारमा चामल अभाव छैन । यसले चामल भन्सार छलेर चोरीपैठारी भई आएको शंकामा बल मिलेको हो । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्का भने चामल आयातमा कमी आउनुको मुख्य कारण भारत सरकारले निकासीमा लगाएको प्रतिबन्ध नै रहेको दाबी गर्छन् । नेपालमा मुख्य गरी भारतीय चामल आउने हो । भारतबाट आउने कुल चामलको परिमाणमध्ये सबैभन्दा धेरै मसिनो र केही महँगो खालको चामल छ ।
भारतमा धान उत्पादनमा कमी आएको र आन्तरिक माग धान्न नसक्ने अवस्था आएपछि निकासीमा केही समय प्रतिबन्ध लगाइएको थियो । एक्कासि यति ठूलो परिमाणमा चामल आयातमा कमी आउँदा चोरीपैठारी बढेको आशंका देखिन्छ । कति विगतमा चामलको नाममा अरु नै सामान आएको हुन सक्ने कति अहिले खुला सीमाको फाइदा उठाएर चोरीपैठारी गर्दा चामल आयातमा कमी आएको हुन सक्ने देखिएको छ । तर, प्रवक्ता खड्काको दाबी भने अन्य कारण हुन नसक्ने छ । उनका अनुसार पछिल्लो वर्ष चामल आयातमा कमी देखिएको तथ्यांक हेर्दा सहज रुपमा विश्वास गर्न सक्ने अवस्था भने छैन । उनले भने, ‘भारतले निकासीमा लगाएको प्रतिबन्धले नै चामल आयातमा कमी आएको हो । अन्य कारण हुनै सक्दैन ।’ आन्तरिक उत्पादन पनि बढेको हुँदा आयातमा कमी आएको प्रवक्ता बताउँछन् ।
कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले यति ठूलो परिमाणमा चामल आयातमा कमी कसरी र के कारणले आयो भन्न नसकिने बताए । रेग्मीले भने, ‘९ लाख २४ हजार टन चामल आयात कम हुने गरी आन्तरिक उत्पादनमा वृद्धि छैन । उपभोग गर्ने मानिसको संख्या पनि घटेको छैन । यस्तै, युवा विदेश पलायनको तथ्यांक पनि पछिल्ला केही वर्षयता बढेको छैन । चामलको आयातमा कमी हुँदा बजारमा अभाव भएको पनि सुनेको छैन । त्यसकारण यो विषयमा अध्ययन नगरी केही भन्न सकिँदैन ।’
ठूलो परिमाणमा चामल आयातमा कमी आएको हुँदा सरकारले अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि ठूलो परिमाणमा चामल आयात कमी देखिनुमा के कारण हो यकिनका साथ भन्न नसक्ने बताए । ‘यो अध्ययनको विषय हो । ठूलो परिमाणमा चामल आयातमा कमी आउनुलाई आन्तरिक उत्पादन वृद्धि भएको र चामल उपभोग गर्ने मानिसले अरु नै खाद्यान्न उपभोग गरेको हुनुपर्छ । तर, त्यो अवस्था नभएको देखिँदा भन्सारबाट चामल आयातको तथ्यांकलाई राष्ट्रिय तहबाट नै अध्ययन गर्न आवश्यक देखिएको छ । केही परिमाणमा धान उत्पादन बढे पनि यति ठूलो आयात घट्ने गरी उत्पादन भएको छैन,’ उनले भने ।
मन्त्रालयको तथ्यांकअनुसार आव २०७७–७८ मा ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो । त्यसपछिका तीन वर्षमध्ये एक वर्ष मात्र उत्पादन ५० लाख ४७ हजार भएको छ । अरु वर्षमा उत्पादन एकाध लाखमा मात्र अन्तर छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चामल आयातमा कमी आउनुको मुख्य कारण चोरीपैठारी नै भएको बताए । ‘चोरी पैठारीबाहेक अरु कारण नै छैन ।
भारतले चामल निकासीमा लगाएको प्रतिबन्ध र निकासी शुल्क २० प्रतिशत पुर्याउँदा नेपाली व्यापारीले भन्सार बन्दीबाट चामल आयात गर्न छोडेर चोरीपैठारीको बाटो अपनाएका हुन् । सरकार चोरीपैठारी नियन्त्रण गरेको दाबी गर्छ । तर, गैरभन्सारबाट चामल आयात बढ्नुमा भन्सार र सिंहदरबारका कर्मचारीको पनि मिलेमतो छ । भन्सार नाकामा कडाइ गरी चोरीपैठारी नियन्त्रण गरेको हो भने एक्कासि चामल आयातमा कमी देखिँदैनथ्यो,’ उनले भने ।
प्रतिक्रिया