काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन विदेशी र स्वदेशी व्यवसायीलाई लगानीका लागि आह्वान गर्दै सकिएको छ । आइतबार र सोमबार भएको सम्मेलनमा कति रकमबराबर लगानीको प्रतिबद्धता गरियो भन्ने विषयलाई सरकारले बाहिर ल्याउन चाहेको छैन । विगतमा लगानी सम्मेलनमा प्रतिबद्धताको रकम र आयोजनाहरुको नामावली सार्वजनिक गर्ने परम्परा थियो । यस पटकको सम्मलनले त्यो परम्परा तोडेको छ । विगतमा प्रतिबद्धता अनुसार लगानी नआएको आरोप लाग्दै आएको थियो ।
सम्मेलनका क्रममा नेपालका वर्तमान एवं पूर्वप्रधानमन्त्रीहरु, निजी क्षेत्र र विदेशी विभिन्न पाहुनाहरुले धारणा राखेका थिए । लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताए । तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको उनको भनाइ छ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रका प्राथमिकता एवं सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएका भट्टले बताए ।
सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएका थिए । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान दिइएको छ । सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरुसँग प्रत्यक्ष छलफल गरेका थिए । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छुट्टाछुट्टै भेटघाट र छलफल गरेका थिए ।
विश्व बैंक समूह, चीन, भारत, कुवेत, यूएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसर खोज्न चासो व्यक्त गरेका छन् । नेपालको दिगो विकासको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौताहरु भएका छन् । सम्मेलनको दोस्रो दिन समापन सत्रका अतिरिक्त सार्वजनिक–निजी साझेदारीसम्बन्धी मूल सत्रका साथै विभिन्न तीन चरणमा १० समानान्तर सत्रहरू सम्पन्न भएका थिए । सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए ।
लगानीकर्तालाई खुला हृदयले स्वागत गर्छौंः ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानी सम्मेलनको समापन समारोहमा बोल्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताएका छन् । उनले विकासका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने बताए ।
ओलीले विदेशी लगानीकर्ताका लागि नेपालमा अनुकूल वातावरण बनाइएको भन्दै लगानीको सुरक्षाका लागि प्रतिबद्धता पनि जनाए । ‘सबै राजनीतिक दलहरुले विदेशी लगानीको सुरक्षाका लागि ग्यारेन्टी दिन चाहन्छौं,’ ओलीले भने, ‘अहिले विदेशी लगानीमा निर्माणाधिन आयोजनाहरुमा पनि सरकारले पूर्ण सुरक्षा दिएको छ ।’ कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डका सीईओ सुशील भट्टले बताए ।
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौंः पुन
अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा उनले सम्मेलन सफल भएको बताएका हुन् ।
उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उपस्थितिले सम्मेलन सफल भएको उनको भनाइ थियो । बैठकमा उनले विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए । ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्यलाई स्थापित गर्न सफल भएका छौं ।’
मन्त्री पुनले प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको बताए । यस्तै विकास साझेदारहरुले चासो राख्दै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए ।
मन्त्री पुनले सरकार नीतिगत सुधार र स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आउने समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश दिन विदेशी लगानीकर्तालाई आग्रह गरे । मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
। उनले नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका कारण स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए । नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो ।
बैठकमा विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका थिए । सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानीको वातावरण बनाएको उनीहरुको भनाइ थियो । यस्तै उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेर प्रशंसा गरे । सम्मेलन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकोतर्फ उनीहरुको संकेत थियो । उनीहरुले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए । नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया