(Thursday , 16 April,2026)

स्वास्थ्य बीमा, पूर्वाधार र सेवा प्रभावकारी बनाउन निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । प्रतिष्ठानको १२औँ सभालाई आज सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भने, “स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।” समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै कुलपति दाहालले यस्ता कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रम पनि समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए ।

नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायत स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याए । प्रधानमन्त्रीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान सह्रानीय रहेको बताए ।

यस्तै, प्रधानमन्त्री दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताए । प्रधानमन्त्रीले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।”

प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे ।

प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । उक्त सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपतिको उपस्थिति थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal