काठमाडाैँ । गत आर्थिक वर्ष २०७९–८० मा कृषिजन्य वस्तु आयातका लागि ३ खर्ब रुपैयाँ बाहिरिएको छ । कुल १६ खर्ब ११ अर्बको वस्तु आयात हुँदा कृषिजन्य वस्तुमा मात्र २ खर्ब ९६ अर्ब खर्च भएको हो ।
गत आवमा समग्र वस्तुको आयात घट्दा कृषिजन्य वस्तुको आयातमा पनि कमी आएको छ । अघिल्लो आवमा भने कुल आयात १९ खर्ब २० अर्बको हुँदा कृषिजन्य वस्तुको हिस्सा ३ खर्ब ७८ अर्ब थियो । अघिल्लो आवको भन्दा गत वर्ष कृषिजन्य वस्तुको आयात ८२ अर्ब ५५ करोड रुपैयाँले घटेको भन्सार विभागको तथ्यांक छ । आयात घट्नुको कारण १० वटा वस्तुमाथिको प्रतिबन्ध हो ।
स्वदेशमा उत्पादन क्षमता वृद्धि नभएर कृषिजन्य वस्तुको आयात कम हुनु आर्थिक मन्दीको असर भएको कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । मन्दीका कारण मानिसमा क्रयशक्ति कम हुँदा कृषिजन्य वस्तुको उपभोग घटेको र यसकै कारण आयात कम भएको हुन सक्ने उनको भनाइ छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष चामल आयात ३६ अर्ब ३६ करोडको भएको छ । अघिल्लो वर्ष ४५ अर्ब ५७ करोडको चामल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष चामल आयात ९ अर्ब २१ करोड रुपैयाँले घटेको छ ।
वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले अघिल्लो वर्षको तुलनामा गत वर्ष चामल आयात कम हुनुको कारण भारतले केही सयमका लागि चामलमा २० प्रतिशत कर लगाउनु पनि भएको बताए । समग्र आयात घट्दा कृषिजन्य वस्तु पनि कम नै आयात भएको देखिएको पनि उनले प्रष्ट पारे । गत वर्ष मकै आयात १७ अर्ब १७ करोडको भएको छ । यस्तै गहुँ २८ करोड ९ लाखको आयात भएको छ ।
आलु १ करोड ३३ लाखको आयात भएको छ । मेथी २५ करोड ४९ लाखको आयात भएको छ । यसैगरी गत वर्ष पशुजन्य वस्तुको आयात ९० करोड ९७ लाखको भएको छ । गत वर्ष १ अर्ब ८५ करोडको दुग्धजन्य वस्तु आयात भएको छ । माछा ४७ करोड ३८ लाख रुपैयाँको आयात भएको छ । कफी १६ करोड ९ लाख रुपैयाँको आयात भएको छ ।
यसैगरी हरियो तरकारी १० करोड ९४ लाखको आयात भएको छ । फलफूल ७ अर्ब ९ करोडको आयात भएको छ । ताजा अंगुर २ अर्ब १५ करोड रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष १ अर्ब ६२ करोडको केरा आयात भएको छ । ८९ लाख रुपैयाँको अनार आयात भएको तथ्यांक छ । यसैगरी ८८ करोड १८ लाखको सुन्तला आयात भएको छ । यसैगरी ७० करोड २ लाखको आँप आयात हुँदा ६८ करोड ९५ लाख रुपैयाँको खरबुजा भित्रिएको छ ।काराेबार
प्रतिक्रिया