काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा दिगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) का तर्फबाट सम्बोधन गर्दै उनले एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गरेका छन् ।
उनले एलडीसीहरूका लागि दोहा कार्ययोजनाको पूर्ण रूपमा र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गरेका हुन् । उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा पनि जोड दिएको विज्ञप्तीमा उल्लेख छ । ‘एलडीसीहरू विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडीसी सफल भए एसडीसीहरू सफल हुन्छन्,’ उनले भने ।
फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरूको सहभागीता छ । फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकामा पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधि मण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरू र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरू सहभागी छन् ।
प्रतिक्रिया