काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको आम्दानी र खर्चबीचको खाडल साढे २ खर्ब पुगेको छ । यो वर्षको १० महिना अर्थात् वैशाख अन्तिमसम्ममा सरकारको कुल खर्च १० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही समयमा ऋणबाहेकको कुल आम्दानी भने ७ अर्ब ९७ अर्ब रुपैयाँमात्र भएको छ । अहिलेसम्मको आम्दानी र खर्चलाई हेर्दा खाडल साढे २ खर्ब रुपैयाँ देखिएको हो ।
सरकारको वैशाखसम्मको कुल १० खर्ब ४७ अर्ब रुपैयाँ आम्दानी राजस्व, अनुदान र अन्य क्षेत्रबाट आएको मात्र हो । यसमा सरकारले उठाएको आन्तरिक र बाह्य ऋण जोडिएको छैन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्ममा ६ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व र ७१ अर्ब रुपैयाँ गैरकर राजस्व असुली भएको छ । यस्तै, अहिलेसम्म ४ अर्ब ८० करोड अनुदान आएको छ भने सरकारको अन्य आम्दानी ३६ अर्ब रुपैयाँ भएको छ । कार्यालयका अनुसार यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ कुल राजस्व उठाउने लक्ष्य राखेकामा अहिलेसम्म ५३ प्रतिशतमात्र उठेको छ । राजस्व असुली ५२.८५ र गैरकर राजस्व असुली ६६.४५ प्रतिशत पुगेको छ । वैदेशिक अनुदान भने लक्ष्यको ८.६६ प्रतिशतमात्र आएको छ । गत वर्ष यो बेला ८ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व असुली भएको थियो । गत वर्षको लक्ष्य ११ खर्ब ८० अर्ब रुपैयाँ थियो ।
महालेखाका अनुसार यो अवधिमा सरकारको कुल खर्च लक्ष्यको ५८.४१ प्रतिशत पुगेको छ । यसमध्ये चालु खर्च लक्ष्यको ६६.४९ र पुँजीगत खर्च ३३.०४ प्रतिशत हो । यस्तै, वित्तीय व्यवस्थापनमा लक्ष्यको ५८.७९ प्रतिशत खर्च भएको छ । यो वर्ष राजस्व संकलन कम हुनुमा घरजग्गा र सेयर कारोबारमा गिरावट आउनु, महँगी र आन्तरिक उत्पादन कम हुनु एवं समग्रमा अर्थतन्त्रमा सुस्तता आउनु रहेको अर्थ मन्त्रालयले बताउँदै आएको छ । भन्सारको चोरी पैठारी नघट्दा आम्दानी र खर्चको खाडल साढे २ खर्ब पुगेको पूर्व अर्थसचिव रामेश्वर खनालको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय आयातको अनुपातमा राजस्व कम उठेको छ । यसले भन्सार बिन्दुहरुमा हुने चोरी पैठारी नियन्त्रण नभएको देखिन्छ । आम्दानी र खर्चमा साढे २ खर्ब रुपैयाँको खाडल देखिए पनि २०५७-२०५८ सालमा जस्तो खराब अवस्था अहिले नभएको उनले बताए । सरकारले अझै चालु खर्च व्यवस्थापन गर्ने हो अहिले आर्थिक अवस्था नराम्रो नहुने उनको भनाइ छ ।
महालेखाका अनुसार यो वर्ष राजस्व संकलनभन्दा चालु खर्च ३० अर्ब बढी भएको छ । विगतका वर्षहरुमा सामान्यतया राजस्व आम्दानीले चालु खर्च धान्दै आएको थियो । राजस्वजस्तै सरकारले यस वर्ष लक्ष्यभन्दा धेरै कम अनुदान ल्याएको छ ।
यो वर्ष अहिलेसम्म अनुदान ४ अर्ब ८० करोड रुपैयाँमात्र आएको छ । जबकि बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने लक्ष्य राखिएको छ । यो वर्ष राजस्वका प्रमुख सबै स्रोत आयकर, भ्याट, भन्सार महशुल र अन्तःशुल्कमा संकुचन आएको छ ।
प्रतिक्रिया