(Wednesday , 22 April,2026)

स्वदेशमै उत्पादन भएका सवारीसाधानलाई नम्बर प्लेट दिने सरकारको तयारी

mountainejournal.com

mountainejournal.com


काठमाडौँ । सरकारले स्वदेशमै उत्पादनका सवारीसाधनलाई दर्ता नम्बर प्लेट दिने तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले स्वदेशी उत्पादनलाई दर्ता नम्बर प्लेट दिन नमिल्ने भए पनि तत्काल कार्यविधि ल्याएर दर्ताको बाधा फुकाइउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी थालेको छ । 

 प्रधानमन्त्रीको कार्यालयले भने स्वदेशी उत्पादनका सवारी साधनलाई दर्ता दिनबाट ऐनले नै वर्जित गरेकाले ऐनमा नै व्यवस्था गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । आइतबार प्रधानमन्त्रीको निर्देशन लगत्तै सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको सचिव, सहसचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक समेतको बैठकले विद्यमान कानुनलाई संशोधन वा नयाँ व्यवस्था थप गरेर जान सकिने निष्कर्ष निकालेको छ । 

तत्कालको बाधाअड्काउ फुकाउका लागि सवारी तथा यातायात व्यवस्था कार्यविधिलाई नै अगाडि बढाएर सोहीमार्फत सवारीको दर्ता (नम्बर प्लेट) दिने गरी अघिबढ्ने र सँगसँगै विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई समेत परिमार्जन गर्ने निर्णय भएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘द्रुत गतिमा समस्याको समाधान निकाल्न सबै सरोकारवाला पक्ष सकारात्मक भएका छौं । केही दिनभित्र रिजल्ट आउनेछ,’ महानिर्देशक भट्टराईले भने, ‘कार्यान्वयन त विद्यमान कानुन (सवारी तथा यातायात व्यवस्था ऐन, २०४९) नै संशोधन गर्ने हो । तर, तत्काल समस्या समाधानका लागि कार्यविधि, निर्देशिकाबाट जाने निर्णय भएको छ’ उनले भने ।

 विभागले यसअघि कार्यविधि बनाएरै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधानलाई सम्बोधन गर्ने तयारी स्वरुप कार्यविधिको प्रारम्भिक ड्राफ्ट (मस्यौदा) बनाएर तालुक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो । विभागबाट आएको मस्यौदा केही भाषागत त्रुटि सच्याएर मन्त्रालयले अन्तिम स्वीकृतिका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालय पठाएको थियो । तर, कानुन मन्त्रालयले ऐनले नदिएको विषयमा कार्यविधि बनाउन नसकिने जवाफ दिँदै स्वदेशी उत्पादनका सवारीलाई दर्ता दिन सकिने प्रस्तावित मस्यौदा फिर्ता गरिदिएको थियो ।अहिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, विभाग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको सक्रियतामा कार्यविधिमार्फत नै छोटो समयका लागि निकास दिने तयारी भएको हो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal