काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन् भने निर्वाचन प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबारदेखि भएको निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन दोस्रो चरणको निर्वाचन अगावै निर्विरोध चुनिएका हुन् । उनीहरूसँगै ६४ कार्यसमिति निर्वाचित भएको छ । महासंघको विधानअुनसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम ढकाल नयाँ अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि भएको पहिलो चरण निर्वाचनमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघईबीच प्रतिस्पर्धा भएको थियो । तीनमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसेकेपछि पुनः मतदानको तयारी भएको थियो । पहिलो चरणमा अञ्जनले ३७.९९, उमेशलालले ३१.५१ र रामचन्द्रले ३०.४६ प्रतिशत मत ल्याएका थिए । पहिलो चरणबाट संघई प्रतिस्पर्धाबाट बाहिरिएका थिए । दोस्रो चरणको मतदानका क्रममा प्रतिस्पर्धी उमेशलालले उम्मेदवारी फिर्ता लिएपछि अञ्जन वरिष्ठ उपाध्यक्षमा चयन भएको निर्वाचिन समिति मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । ‘उमेशजीले मेरो भाइजस्तो मान्छे वरिष्ठ उपाध्यक्षका लागि उठेको छ । त्यसकारण म मेरो उम्मेदवारी फिर्ता लिएर अञ्जनलाई सहयोग गर्छु’ भन्दै सहमति गरेको पौडेलले बताए ।
महासंघमा वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल, जिल्ला/नगरतर्फको उपाध्यक्षमा रामचन्द्र समूहका सुरकृष्ण वैद्य तथा एसोसिएट उपाध्यक्षमा पनि उही समूहकी ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिको भनाइ छ । ढकालले अञ्जन समूहका मनीषलाल प्रधान तथा रामचन्द्र समूहका सकुन्तलाल हीराचनलाई पराजित गरे । सूरकृष्णले अञ्जन समूहका अरुणराज सुमार्गी तथा दिनेश श्रेष्ठलाई पराजित गरे । ज्योत्स्नाले अञ्जन तथा उमेशलाल समूहका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन् ।
को हुन् चन्द्र ?
दुई कार्यकाल महासंघको कार्यकारिणी समिति सदस्य रहेका चन्द्रप्रसाद ढकाल उद्यम हुन् । महासंघको लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । आईएमई ग्रुपका संस्थापक अध्यक्ष ढकाल चार दशकदेखि व्यावसायिक यात्रामा छन् । ०४५ सालबाट व्यवसाय थालेका उनले ०४८ मा कार्गो कम्पनी हुँदै ०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेका थिए ।
आईएमई ग्रुपसँग सम्बद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकालका रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जन क्षेत्रका कम्पनी छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायत कम्पनीमा आईएमई ग्रुपको प्रमुख हिस्सेदारी छ । सरकारबाट ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सीआईपी’ सम्मान पाइसकेका ढकालको आईएमई रेमिट चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ ।
बिहीबार उनले महासंघ अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । महासंघमा आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतिको प्रयास अन्तिममा सफल भएको ढकालले बताए । महासंघ अध्यक्षका रूपमा यसको छविलाई आगामी दिनमा अझ उचो बनाएर अघि बढ्ने उनको विश्वास छ ।
आफ्नो कार्यकालमा वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीच साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको ढकालले जनाए ।
को हुन् अञ्जन ?
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले ४९ वर्षअघि मिठाईबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । अटोमोबाइल, डन्डी, स्टिल, दुग्धपदार्थ उत्पादनदेखि खाद्य उद्योगसम्ममा लगानी रहेका श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वउपाध्यक्षसमेत हुन् । यसअघि अञ्जन महासंघको वस्तुगततर्फका उपाध्यक्ष थिए ।
को–को निर्वाचित भए ?
महासंघको निर्वाचनमा वस्तुगततर्फ १४ सदस्यीय समिति निर्वाचित भएको छ । यसमा नरेशलाल श्रेष्ठ, हरिबहादुर कार्की, शिवप्रसाद घिमिरे, लीलेन्द्रप्रसाद प्रधान, अरनिको राजभण्डारी, सुबोधकुमार गुप्ता, रविन पुरी, शोभा ज्ञवाली, भक्तबहादुर हमाल, नानीराज घिमिरे, मनोज अधिकारी, कमला श्रेष्ठ, पशुपतिदेव पाण्डे र राजकुमार कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
१९ सदस्यीय सदस्य रहेको एसोसिएटतर्फ रामशरण थपलिया, मनोज पौडेल, आनन्दकुमार अग्रवाल, अम्बिकाप्रसाद पौडेल, सुनिलनारायण श्रेष्ठ, सुशील थापा, शैलेन्द्र गुरागाईं, राजेशकुमार अग्रवाल, हेमन्त गोल्छा, देशबन्धु बस्नेत, अविनाश बोहरा, गोपाल खनाल, उज्ज्वलकुमार श्रेष्ठ, प्रबलजंग पाण्डे, जुना माथेमा, शक्तिकुमार बेगानी, सन्दीपकुमार अग्रवाल, ऋषि अग्रवाल र बाबुकाजी कार्की निर्वाचित भएका छन् । जिल्ला/नगरतर्फ १८ सदस्यीय समितिमा मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अम्रेशचन्द्र बैदार, ताराबहादुर कार्की, नवीन रिजाल, उमेश डालमियाँ, वेदबहादुर श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, अब्दुल वाहिद मन्सुर, कल्पना गैरे, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक केसी र मञ्जुकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।
महासंघको सात प्रदेशतर्फ नरेन्द्र खड्का (कोशी), अरुण प्रधान (मधेश), सविन श्रेष्ठ (वाग्मती), युवराज राजभण्डारी (गण्डकी), जमशेर मियाँ (लुम्बिनी), लालीमान बुढा (कर्णाली) र जंगबहादुर मल्ल (सुदूरपश्चिम) निर्वाचित भएका छन् । यस्तै संस्थापनतर्फ भीष्मप्रसाद न्यौपाने तथा द्विराष्ट्रिय सदस्यमा सुनिल केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कान्तिपुर
प्रतिक्रिया