(Thursday , 16 April,2026)

अर्थतन्त्र सुधार उन्नमुख

mountainejournal.com

mountainejournal.com

काठमाडौं । एक वर्षअघि समस्यामा देखिएको अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षमा त्यसअघिकै अवस्था (पुरानै अवस्था) मा फर्केको छ । गत वर्ष उच्च व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चिति घट्दा सबै क्षेत्रमा त्यसले प्रभाव पारेको थियो । अहिले २०७७ असार मसान्तको अवस्थामा सञ्चिति आएको हो ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार अहिले विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबर पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यो आठ महिनामा सञ्चिति १५.२ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा ९ अर्ब ५४ करोड रहेकामा १२.१ प्रतिशतले बढेर १० अर्ब ६९ करोड पुगेको छ । सञ्चिति बढ्नुमा आयात घट्नु र रेमिटेन्स बढ्नु सबैभन्दा प्रमुख कारण रहेका छन् ।

यो आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ ।

व्यापार
राष्ट्र बैंकका अनुसार फागुनसम्ममा कुल वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १० खर्ब ४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, कुल वस्तु आयात १९.१ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७.६ प्रतिशत, २१.७ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस बिलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टस् लगायतका वस्तुको आयात घटेको छ । फागुनसम्ममा कुल वस्तु व्यापार घाटामा १७.९० प्रतिशतले कमी आई ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष फागुनसम्म यस्तो घाटा ३४.५० प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारी
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले बढेको छ । फागुनसम्ममा यसरी विदेश जाने ३ लाख ५१ हजार ७ सय ६१ जना पुगेका छन् । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या पनि ८ प्रतिशतले बढेको छ । पुनः श्रमस्वीकृति लिएर जाने १ लाख ९२ हजार ५ सय ५९ जना पुगेका छन् । अघिल्लो वर्ष फागुनसम्ममा यो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

महँगी
अहिले महँगी नियन्त्रित र घट्ने दिशामा रहेको राष्ट्र बैंकको दाबी छ । फागुनमा महँगी ७.४४ प्रतिशत छ । अघिल्लो वर्ष फागुनमा महँगी ७.१४ प्रतिशत थियो । यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.८७ प्रतिशत छ ।

सेवा आय
यो अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय ९८.६० प्रतिशतले बढेर ३७ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ अर्ब ७० करोड थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७० प्रतिशतले वृद्धि भएर ७६ अर्ब १२ करोड पुगेको छ ।

चालु खाता
केन्द्रीय बैंकका अनुसार फागुनसम्ममा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ । अघिल्लो वर्ष यो ४ सय ६० अर्ब ७२ करोडले घाटामा थियो । यस्तै, शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्ष यो २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो ।

मुद्राप्रदाय
यो अवधिमा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले मात्र बढेको छ । यस्तै, बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal