(Tuesday , 28 April,2026)

सार्वजनिक भयो आर्थिक स्थितिपत्र

अर्थमन्त्री वाग्लेले देखेका आर्थिक रुपान्तरणका अवसर र संवाहक क्षेत्र

mountainejournal.com

mountainejournal.com

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेका छन् । एक महिनाअघि अर्थमन्त्रीको पदभार गर्ने बेला यस्तो प्रतिवेदन सार्वजनिक गर्ने उनले घोषणा गरेका थिए । त्यसअनुसार एक महिनाभित्रै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गरेर अर्थतन्त्रको हालको तस्बिर र आगामी बाटो बाहिर ल्याएका हुन् ।

यसअघिका केही अर्थमन्त्रीले पनि पदभार सम्हालेपछि मुलुकको आर्थिक अवस्थाका बारेमा श्वेतपत्र सार्वजनिक गरेका थिए । वाग्लेले यसैलाई निरन्तरता दिएको मान्न पनि सकिन्छ ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितिपत्रमा अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सम्पूर्ण रुपमा जानकारी दिइएको छ । स्थितिपत्रमा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको स्थितिदेखि आर्थिक वृद्धिदर, उत्पादन संरचना, बचत तथा लगानी, राजस्व असुली र परिचालन, बजेट र खर्च संरचना समेटिएका छन् ।

यसैगरी मुलुकले उठाएको सार्वजनिक ऋण, वैदेशिक सहायता, सार्वजनिक संस्थानमा सरकारले गरेको लगानी, पूर्वाधार विकासको अवस्था, वित्तीय र बाह्य क्षेत्र, शिक्षा र स्वास्थ्य, गरिबी, बेरोजगारी, असमानता र जलवायु परिवर्तनको प्रभावसमेत स्थितिपत्रमा समावेश गरिएका छन् ।

अर्थमन्त्री वाग्लेले यी सबै क्षेत्रको विगतदेखि वर्तमानसम्मको तथ्यांक अथवा अवस्थामात्र देखाएका छन् । उनले स्थितिपत्रमा अर्थतन्त्रको समष्टिगत आर्थिक तथा सामाजिक स्थितिको तथ्यपरक विश्लेषण गरिएको भनेका छन् । तर, सरसर्ति हेर्दा विश्लेषण धेरै गरिएको छैन ।

अर्थमन्त्री वाग्लेले अहिलेको अर्थतन्त्रको अवस्थाबारे धेरै विश्लेषण नगरे पनि आर्थिक रुपान्तरणका लागि अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्ने बहुआयामिक अवसरहरू भने देखेका छन् । उनका अनुसार अहिले स्थिर सरकार भएकाले सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिन्छ । यो प्रयासबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि ल्याउन सकिन्छ । यस्तो पुँजी र प्रविधि प्रयोग गरेर उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ ।

वाग्लेले देखेको अर्को सम्भावनाको क्षेत्र जलविद्युतको विकास हो । उनका अनुसार जलविद्युतको सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर छ । क्षेत्रीय विद्युत व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान सुदृढ गर्ने उनको भनाइ छ ।

उनका अनुसार प्राकृतिक तथा सांस्कृतिक सम्पदाले उच्च मूल्यमा आधारित पर्यटन विकासलाई बलियो आधार प्रदान गरेको छ । हिमाली, सांस्कृतिक र समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत् ग्रामीण क्षेत्रमा रोजगारी र आय सिर्जना गर्न सकिने बलियो सम्भावना वाग्लेले देखेका छन् ।

अर्थमन्त्री वाग्लेले सम्भावना देखेको अर्को क्षेत्र कृत्रिम बौद्धिकता र रोबोटिक्सको उपयोग तथा डिजिटल प्रविधि विस्तारसँगै सेवा निर्यात र ज्ञानमा आधारित अर्थतन्त्र विकासको अवसर हो । उनका अनुसार सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतामार्फत् न्यून पुँजीमा उच्च मूल्य अभिवृद्धि गर्ने आर्थिक गतिविधि विस्तार गर्दै युवाशक्ति र साना उद्यमलाई विश्व बजारसँग जोडिने सम्भावना उच्च छ ।

यस्तै, कृषि क्षेत्रको आधुनिकीकरणमार्फत् उत्पादन, आय र निर्यात विस्तारको सम्भावना पनि उनले देखेका छन् । उच्च मूल्यका बाली, पशुपालन, बगैंचा तथा कृषि प्रशोधन उद्योगमा लगानीमार्फत उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने भनाइ वाग्लेको छ । औद्योगिक विकास र आपूर्ति शृंखला सुदृढीकरणमार्फत् निर्यातउन्मुख उत्पादन विस्तार गर्ने सम्भावना रहेको पनि अर्थमन्त्री वाग्लेको भनाइ छ । विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणका उपायहरू मार्फत उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने अर्थमन्त्रीले बताएका छन् । अर्थमन्त्रीले भौगोलिक अवस्थाको लाभ उठाउँदै नेपाल क्षेत्रीय ट्रान्जिट ट्रेड हब बन्ने सम्भावना पनि देखेका छन् ।

यस्तै, व्यवस्थित शहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र रोजगारी सिर्जनामा सकारात्मक योगदान पुर्‍याउन सक्ने भनाइ वाग्लेको छ । उनका अनुसार यातायात, ऊर्जा, सिँचाइ तथा डिजिटल पूर्वाधार विस्तारले उत्पादन र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गर्नेछ । सार्वजनिक निजी साझेदारीमार्फत् ठूला आयोजना कार्यान्वयन गर्ने अवसर पनि प्रबल रहेको भनाइ अर्थमन्त्री वाग्लेको छ ।

अर्थमन्त्रीले देखेको अर्को सम्भावना विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने हो । उनका अनुसार वैदेशिक आम्दानीलाई उद्यमशीलता, सीप विकास र लगानीतर्फ मोड्न सके घरेलु अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ । यस्तै, प्रवासी नेपाली एवं वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई स्वदेशी उत्पादन तथा सेवा क्षेत्रमा उपयोग गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेका अनुसार वित्तीय क्षेत्र सुदृढीकरणले लगानी विस्तार र आर्थिक विविधीकरणलाई टेवा दिन सक्ने छ । वित्तीय समावेशीकरण, डिजिटल वित्तीय सेवा र दीर्घकालीन लगानीका उपकरणहरूको प्रयोगले उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने भनाइ उनको छ । यस्तै, जैविक र पर्यावरणीय सन्तुलन कायम गर्दै मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जंगल र जडिबुटीको प्रचुर उपयोगमार्फत् आय, उत्पादन र रोजगारी बढाउने अवसर पनि वाग्लेले देखेका छन् ।

अर्थमन्त्री वाग्लेले आर्थिक रूपान्तरणका लागि विभिन्न चार वटा संवाहक क्षेत्र देखेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याई नेपाललाई सम्मानजनक मध्यम–आय भएको मुलुक बनाउने विभिन्न आधारहरू देखिएका छन् ।

विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुर्‍याउने, राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्वका नयाँ आयोजना विकास गर्ने लगायतका पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता ल्याउन सकिने छ ।

यस्तै, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि गर्ने अर्को क्षेत्र हुनेछ । पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि हुने अर्थमन्त्रीले देखेको अर्को संवाहक क्षेत्र हो ।

कृत्रिम बौद्धिकता उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने अर्थमन्त्री वाग्लेले देखेको अर्को क्षेत्र हो । अर्थमन्त्री वाग्लेले अहिलेसम्म मुलुकमा अपेक्षित अर्थतन्त्रको विकास हुन नसक्नुमा पनि केही कारणहरु देखाएका छन् । उनका अनुसार आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसक्नुको मुख्य कारण कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल विनियोजन गर्न नसक्नु हो ।

वाग्लेले आगामी दिनमा यथार्थपरक नीति निर्माण गर्न, वित्तीय स्रोतको कुशल परिचालन गर्न, प्राथमिकता निर्धारण गर्न र कार्यान्वयनको पक्षलाई नतिजामुखी बनाउँदै आर्थिक स्थायित्व सहित उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशिता कायम गर्न यो स्थिति पत्र मार्गनिर्देशक दस्तावेजका रूपमा सहयोगी हुने अपेक्षा गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal