(Wednesday , 22 April,2026)

गृहमन्त्री गुरुङसम्बन्धी नयाँ कागजातले उब्जाएका तथ्य र अनुत्तरित प्रश्‍नहरू

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङमाथि प्रश्नहरू सोझिएका छन् । सेयर कारोबारमा लगानी गर्नु कुनै गैरकानुनी विषय नभए पनि लगानीको स्रोत र उनको सम्पत्ति विवरणका विषयमा संशयहरू पैदा भएका छन् । 

‘हामी नेपाल’ नामक गैरनाफामूलक संस्थाको नेतृत्वमा रहेर जेन-जी आन्दोलनपछि उदाएका र निर्वाचनमार्फत सत्तामा पुगेर सरकारको महत्त्वपूर्णमध्यको एक गृह मन्त्रालयको नेतृत्वमा पुगेका गुरुङले विगतमा गरेको कारोबार र उनको सम्पत्तिको स्रोतबारे विस्तृत विवरणहरू त सार्वजनिक भइसकेका छैनन् । तर कान्तिपुरले  अनुसन्धानकारी निकायबाट प्राप्त गरेका बैंकिक कारोवारको विवरणले उनको कारोबारका विषयमा प्रशस्तै प्रश्न उब्जाएको छ । प्राप्त कागजातका आधारमा सुधन गुरुङको सम्पत्ति, लगानी र कारोवारबारे हामीलाई थाहा भएका तथ्य र थाहा हुन नसकेका विवरण प्रस्तुत गरेका छौं । 

हामीलाई के थाहा छ ? 
१. सुधन अध्यक्ष रहेको गैरनाफामूलक संस्था ‘हामी नेपाल’ को हिमालय बैंक र नबिल बैंक दुवैमा खाता रहेको देखिन्छ । हिमालयन बैंकको खाता नं. ००६XXXXXX१८ फेब्रुअरी २०२५ मा बन्द गरिएको देखिन्छ । खाता बन्द गर्नुअघि यसमा ५३ लाख ४८ हजार रुपैयाँ जम्मा भएको थियो । यही खाताबाट ३० लाख ९४ हजार रुपैयाँ नबिल बैंकमा रहेको ‘हामी नेपाल’को खातामा स्थानान्तरण गरिएको देखिन्छ । 


त्यस्तै ‘हामी नेपाल’को नबिल बैंकमा रहेको खाता नं. ०१५XXXXXX७४ मा जुलाई २०२१ देखि अगस्ट २०२५ सम्ममा २ करोड २८ लाख रुपैयाँ जम्मा भएको पाइयो ।  जसमा सन् २०१५ को मे र जुलाईमा मनिता देवकोटाले ४ लाख ४० हजार पठाएकी छन् । मनिता देवकोटाको सार्वजनिक परिचय हामीसँग छैन ।

नबिल बैंकमा रहेको सुधन गुरुङको व्यक्तिगत खातामा (नम्बर ३११XXXXXX६९) मे–जुन २०२१ मा करिब ६० लाख जम्मा भएको देखिन्छ । यो रकम कोभिड–१९ का लागि सहयोगका लागि विभिन्न स्रोतबाट उपलब्ध भएको देखिन्छ । ५ अगस्ट २०२१ मा सुधनको यही व्यक्तिगत खाताबाट २५ लाख ९० हजार नबिल बैंकमा रहेको हामी नेपालको खातामा स्थानान्तरण गरिएको देखिन्छ । यो तथ्यले सुधनले सहायता रकम व्यक्तिगत खातामै लिने गरेको पुष्टि गर्छ । 

सुधनको नबिल बैंकमा रहेको खातामा विभिन्न समयमा फरक-फरक व्यक्तिले फरक फरक मितिमा लाखौँ रकम जम्मा गरेको पाइएको छ । तीमध्ये केहीको स्रोत विवरणमा ‘सापटी फिर्ता’ उल्लेख छ भने अन्य धेरै कारोबारमा स्रोत खुलाइएको देखिँदैन । ९ मे २०२३ मा चाङ अग्रवाल नामका व्यक्तिले गुरुङको खातामा २२ लाख ५० हजार रुपैयाँ र सोही मितिमा विजयकुमार श्रेष्ठको नामबाट ३७ लाख ५० हजार रुपैयाँ जम्मा भएको पाइएको छ ।


सुधनको व्यक्तिगत खाताबाट १० मे २०२३ मा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको खातामा २५ लाख र सोही मितिमा स्टार माइक्रो इन्स्योरेन्सको खातामा २५ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । यी दुवै लघुबिमा कम्पनीमा सुधनको २५ हजार कित्ता सेयर रहेको कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा छ । यही विषयमा सुधन अहिले विवादमा तानिएका छन् । ७ जुन २०२३ मा सुधनको सोही खाताबाट बिजेशकुमार मगरको खातामा ११ लाख रुपैयाँ भुक्तानी भएको छ ।

१३ अक्टुबर २०२३ मा छिरिङ छोम्बेल गुरुङले सुधनको खातामा २५ लाख रुपैयाँ जम्मा गरेका छन् । जसको स्रोतमा ऋण फिर्ता भनिएको छ । १७ अक्टुबर २०२३ मा पनि सुधनको खातामा २० लाख रुपैयाँ पैसा जम्मा भएको देखिन्छ । २० र २५ अप्रिल २०२४ मा सञ्जय सर्भिसेज सेन्टर प्रालिको नामबाट क्रमशः १० लाख र साढे १२ लाख रुपैयाँ उनको खातामा जम्मा भएको छ । जसमा एउटा कारोबारको स्रोतमा ऋण फिर्ता र अर्कोमा व्यवसाय भनिएको छ । 

उल्लिखित विवरण केलाउँदा चाङ अग्रवाल र विजयकुमार श्रेष्ठबाट गुरुङको खातामा ६० लाख रुपैयाँ जम्मा भएको देखिन्छ । चाङ अग्रवाल गेट अहेड ट्रेडिङ प्रालि, एसआरएस इन्भेस्टमेन्ट प्रालि र विनर लिक्वर उद्योग प्रालिलगायत कम्पनीका मालिक हुन् । उनी नेपाल उद्योग परिसंघ युवा परिषद्का पूर्व अध्यक्षसमेत हुन् । अग्रवाल र श्रेष्ठले सुधनको खातामा जम्मा गरेको रकम लघुबिमा कम्पनीको सेयर किन्न उपयोग भएको अनुसन्धानकारी निकायको दाबी छ । 

तर सुधनको खातामा ३७ लाख ५० हजार जम्मा गर्ने विजयकुमार श्रेष्ठ को हुन् भन्ने खुल्दैन । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको रकमको स्रोतमा विवाद सुरू भएपछि गृहमन्त्री गुरुङले भने आफूले कर्जा लिएर उक्त सेयर खरिद गरेको दाबी गरेका छन् । २०८० साउन २१ मा यही नामका व्यक्ति (विजयकुमार श्रेष्ठ) बाट गुरुङले ३७ लाख ५० हजार कर्जा लिएको र कर्जा कारोबारको कपाली तमसुकको लिखत काठमाडौं महानगरपालिका वडा नम्बर ५ वाट प्रमाणित गर्न निवेदन दिएको देखिन्छ ।

तर सुधनको खातामा रकम पठाउने व्यक्तिको विस्तृत विवरण नखुलेकाले नाम मिले पनि यी दुवै व्यक्ति एकै हुन भन्न सकिएन । 
करिब २५ लाख छिरिङ छोम्बेल गुरुङको नबिल बैंक खाताबाट सुधनको खातामा जम्मा गरिएको देखिन्छ । यो रकम सुशीलकुमार श्रेष्ठ र सुरेशकुमार यादवद्वारा नगदमा जम्मा भएको छ । यी दुवै व्यक्ति सीमाभन्दा बढी कारोबार गरेर पटक पटक अनुसन्धानकारी निकायको सूक्ष्म निगरानीमा रहेका व्यक्ति हुन् । सञ्जय सर्भिसेज सेन्टर प्रालिसँग पनि गुरुङको केही कारोबार भएको देखिन्छ भने लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको खातामा पनि उनले केही रकम जम्मा गरेको खुल्छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकमा पनि सुधनको खाता रहेको पुष्टि हुन्छ । खाता नं. ०१०XXXXXX०१ मा ११ जुलाई २०२१ देखि १५ सेप्टेम्बर २०२५ सम्म १ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ । अन्जल मानन्धरको नामबाट उक्त खातामा करिब ४० लाख नगद जम्मा गरेको देखिन्छ ।

बैकिङ कारोबारका यी विवरणले सुधनले विभिन्न व्यक्तिसँग ठूलो रकमको कारोबार गर्दै आएको देखिन्छ । तर त्यस्तो कारोबारको स्रोत तथा विस्तृत विवरण भने धेरैजसोमा खुलाइएको छैन ।

सुधनको स्वामित्वमा रहेका व्यवसाय कुन-कुन ? 
सुधन आफैंले खुलाएको सम्पत्ति विवरणमा एडभेन्चर भिल्ला प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट प्रालि र होप होल्डिङस प्रालि गरी तीन कम्पनीमा लगानी रहेको  देखिन्छ । यो तीनैवटा कम्पनीको नाम उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा पनि उल्लेख गरेका छन् । 

१) एडभेन्चर भिल्ला प्रालि :  सन् २०१६ जुन २२ मा स्थापना भएको यो कम्पनीको लक्ष्मी सनराइज बैंक लिमिटेडमा बैंकमा ०३५XXXXXX१८ को खाता छ । अगस्ट २०१७ देखि अगस्ट २०२१ सम्म यो खातामा १ करोड १३ करोड जम्मा भएको देखिन्छ । त्यसपछि यो खातामा कुनै कारोबार भएको देखिन्‍न । 


२) लगुम प्रिमियम अपार्टमेन्ट प्रालि : यो कम्पनीको प्रभु बैंकमा खाता (नं. ०४०XXXXXX१७) छ । कम्पनीका नाममा पारामाउन्ट  मोटरबाट गाडी खरिद गरेको देखिन्छ । यो खरिद गर्दा करिब १९ लाख नगद र पौने २५ लाख ऋण लिएको कान्तिपुरलाई प्राप्त कागजातमा देखिन्छ । १ जनवरी  २०२५ देखि १५ सेप्टेम्बर २०२५ सम्म लगुमको कारोबार ५७ लाख रुपैयाँभन्दा बढी भएको खुल्छ । खातामा जम्मा रकममध्ये २ लाख ३९ हजार रुपैयाँ मात्र बुकिङ वेबसाइटहरू र बाँकी रकम विभिन्न व्यक्तिबाट आएको अनुसन्धानकारी निकायले पत्ता लगाएका छन् । ती व्यक्ति को हुन् भनेर हामीले पत्ता लगाउन सकेनौं । 

३) होप होल्डिङ्स प्रालि : यो कम्पनीको प्रभु बैंकमा खाता (न.००१XXXXXX१३) छ । डिसेम्बर २०२४ देखि मे २०२५ सम्म यो खातामा १ करोड १९ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । यो खाताबाट लगुम प्रिमियम अपार्टमेन्ट, सुधन गुरुङ र होप होल्डिङबीचमा धेरै पटक कारोबार भएको कान्तिपुरले प्राप्त गरेको विवरणबाट खुल्छ । यो कम्पनीको खातामा गैरनाफामूलक संस्था ‘हामी नेपाल’ ले एक पटक करिब साढे ४ लाख रुपैयाँ पैसा जम्मा गरेको देखिन्छ । तर त्यसको कारण भने खुलाएको देखिन्न । 


सुधनको व्यक्तिगत खातामा भएका कारोबार हेर्दा उनले प्रायः क्याफे, रेस्टुरेन्ट, क्लब, सिनेमाजस्ता स्थानमा खर्च गर्ने गरेको सरकारी अनुसन्धानले देखाउँछ । तर उनले कहाँ-कहाँ कति रकम खर्चेका छन् भन्ने विवरण हामीसँग उपलब्ध छैन ।

सन् २०२३ देखि २०२४ को बीचमा सुधनको खातामा विभिन्न व्यक्ति तथा संस्थाबाट लाखौं रुपैयाँ आएको देखिन्छ । जसअनुसार पेन्चु डोल्मा तामाङले गुरुङको खातामा रेमिटमार्फत १९ अप्रिल २०२३ मा ३ लाख ८५ हजार, २५ अप्रिलमा ३ लाख ९० हजार, ६ मे २०२३ मा साढे २ लाख, १६ मेमा २ लाख, १८ मेमा करिब ४ लाख,  २३ अक्टुबर २०२४ मा ४ लाख र २९ अक्टुबर २०२४ मा करिब ४ लाख गरी २४ लाख २५ हजार रुपैयाँ पठाएको पाइएको छ । कान्तिपुरलाई प्राप्त विवरणअनुसार पेन्चु डोल्मा तामाङ आइइसी कलेज आर्ट एन्ड फेसन विशालनगरका विद्यार्थी हुन् । 

सुधनको कारोबारले उठाएका प्रश्‍नहरू

सुधनका व्यावसायिक कारोवारका विवरण एक अर्कासँग अन्तरसम्बन्धित देखिन्छन् । तर उनले गैरनाफामूलक संस्थाबाट उनको व्यक्तिगत खातामा रकम पठाउनुको प्रयोजन र अर्थ के थियो भनेर हामीले पुष्टि गर्न सकेनौं । त्यस्तै उनको व्यक्तिगत खातामा जम्मा भएका कैयन रकमको स्रोत वा प्रयोजन के थियो भनेर पनि कारोबारका क्रममा उल्लेख भएको देखिन्न । जसले उनको कारोबारमाथि संशय पैदा गरेको छ । कोभिड–१९ को बेलामा उनको व्यक्तिगत खातामा सहायता रकम जम्मा हुनु पनि शंकास्पद नै देखिन्छ । 

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदका बेलामा उनले कर्जा लिएको दाबी गरे पनि सेयर खरिदको एकदिन अघि मात्रै उनको व्यक्तिगत खातामा चाङ अग्रवाल र विजयकुमार श्रेष्ठबाट ६० लाख रुपैयाँ आएको देखिन्छ । तर यसको कारण के थियो वा उनीहरूसँग सुधनको के कस्तो व्यावसायिक वा व्यक्तिगत सम्बन्ध थियो भनेर हामीले खुलाउन सकेनौं । 


अनुसन्धानकारी निकायको सूक्ष्म निगरानीमा रहेका सुशीलकुमार श्रेष्ठ र सुरेशकुमार यादवबाट सुधनको बैंक खातामा बारम्बार रकम जम्मा भएको देखिन्छ । तर यी दुवै व्यक्तिसँग सुधनको सम्बन्ध के हो र कस्तो कारोबार हो भनेर हामीले खुलाउन सकेनौं । 

पछिल्ला दुई दिनमा गृहमन्त्री गुरुङले पार्टीभित्रैबाट र बाहिरबाट पनि प्रशस्तै प्रश्नको सामना गरिरहेका छन् । उनले सामाजिक सञ्जालमा दुई पटक स्टाटस लेखेर प्रस्टीकरण दिने प्रयास त गरेका छन् तर उनी र उनको कारोबारलाई लिएर उठेका प्रश्नहरू यथावत छन् । कान्तिपुरबाट साभार 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal