(Wednesday , 22 April,2026)

प्रधानमन्त्री दाहाल, सभापति देउवा र अर्थमन्त्री पौडेलसँग जापानी टोलीको भेट

mountainejournal.com

mountainejournal.com

 

काठमाडौं ( जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्राटिकका सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल सहित उच्च पदस्थ नेताहरुसँग भेट गरेको छ ।

नेपाल (जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो । 
उक्त भेटका अवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए । जापान सरकारसँगै जाइका लगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो । 
प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्पपूणर् हुने बताए । नेपालमा लगानीका लागि अनुकुल वातावरण बनाइएको जानकारी दिंदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरे ।

गतवर्ष आफुले जापानको भ्रमण गर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावित बनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकास गर्न चाहेको बताए ।  जापानमा वैज्ञानिक रुपमा गरिएको कृषि खेतिबाट आफु निकै प्रभावित बनेको दाहालको भनाई थियो । 
यस्तै दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरेका थिए । सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, स्पेशलगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । यही जिम्मेवारी देखेर प्रधानमन्त्री दाहालले उनलाई नेपालको मेनपावर धेरै लैजाने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूणर्रुपमा प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएको जानकारी दिए । म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्ति हुँ,‘ प्रधानमन्त्री दाहालले भने, हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै । हामी प्रो नेपाली मात्र हौं ।प्रधानमन्त्री दाहालले आफुले ९९ प्रतिशत भन्दा बढी संसदबाट विश्वासको मत पाएर प्रधानमन्त्री बनेको जानकारी दिंदै आफुलाई जापानबाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए ।

त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानी आउन सक्ने आफुले देखेको जानकारी गराएका थिए । उनले आगामी दिनमा ग्रीन इनर्जिमा जानुको विकल्प नभएको भन्दै यसका लागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए । देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढी पहिरोलगायतका दैवि प्रकोपका घटनामा पनि जापानले मन खोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए ।

सभापति देउवाले पछिल्ला वर्षहरुमा विग्रदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरु गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनिकरणमा जापानको सहयोग आवश्यक रहेको बताए ।          
त्यस अवसरमा जापानी सांसद मासाकीले आफुले नेपालमा जलस्रोतको विकासको उच्च सभावना देखेको भन्दै जापानको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए । नेपालमा उत्पादित विजुली भारत र बंगलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदा पुग्ने उनको धारणा थियो ।

सांसद मासाकीको टोलीले शुक्रबार नै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो । उक्त भेटमा मासाकीले नेपालको छिमेकी मुलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो व्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए । उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए । त्यसअवसरमा अर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभाव रहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहल गर्ने बताएका थिए ।

यसतै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोग गर्न आग्रह गरेका थिए । यस्तै टोलीले बिहीबार दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र  माधवकुमार नेपालसँग भेट गरेको थियो । 
जापानी टोली गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा आएको हो ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal