सुनको मूल्य अस्वाभाविक वृद्धि
काठमाडौं– पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको लगातार वृद्धिले यसमा लगानी गर्नेहरुलाई उच्च नाफा प्राप्त भएको छ ।नेपाली बजारमा २०७८ माघ ५ मा प्रतितोला सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ थियो । यसको चार वर्षपछि २०८२ माघ ५ मा प्रतितोला सुनको मूल्य दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ । यो चार वर्षमा प्रतितोला सुनको मूल्य एक लाख ८९ हजार ३ सय रुपैयाँ बढेको छ । यसलाई प्रतिशतमा हेर्दा २०४ प्रतिशत हुन आउँछ । २०७८ माघ ५ मा ९२ हजार ७ सय रुपैयाँमा एक तोला सुन किन्ने व्यक्तिलाई आज सोमबार १ लाख ८९ हजार ३ सय रुपैयाँ नाफा भएको छ ।
चार वर्षको अवधिमा यति धेरै नाफा अधिकांश क्षेत्रको लगानीमा हुन सक्दैन । केही वर्षअघि घरजग्गाको लगानीमा यसैगरी उच्च नाफा आउने गरेको थियो । यस्तै, कुनै बेला सेयर बजारमा गरिएको लगानीले पनि यस्तै नाफा दिएको उदाहरण भेटिन्छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय बढ्दो भू–राजनीतिक अस्थिरतका कारण विश्वमै लगानीकर्ता सुनमा आकर्षित भएका छन् । सुनमा व्यक्ति र व्यवसायी भन्दा पनि संस्थागत लगानी बढेको छ । कतिपय मुलुकमा बैंकिङ क्षेत्रले सुन खरिद गरिरहेका छन् । यस्तै, कतिपय मुलुकले पनि सुन खरिदमा चासो देखाएका छन् । यही कारण विश्व बजारमा सुनको माग बढ्दै जाँदा मूल्य पनि अकासिँदै आएको छ ।
विश्व राजनीति स्थिरतातर्फ उन्मुख भए व्यवसायीहरुले सेयर बजारदेखि उत्पादन क्षेत्रमा लगानी बढाउने गर्छन् । राजनीति अस्थिरतातर्फ मोडिँदा सुनमा लगानी गर्नेहरु बढेकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य दिनप्रतिदिन अस्वाभाविक रुपमा बढ्दै गएको हो ।
व्यवसायीका अनुसार विश्व राजनीतिमा अस्थिरता देखिएकाले सुनको मूल्य अझै बढ्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीति, पछिल्लो समय भेनेजुएलामा गरेको आक्रमण, ग्रीनल्याण्ड माथिको निरन्तर दाबी र बढ्दो आर्थिक द्वन्द्वले सुनको मूल्य निरन्तर उकालो लागेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुन बजार पछिल्लो समय निकै प्रभावित बनेको छ । विश्वमा आर्थिक द्वन्द्व बढ्ने क्रम देखिएकाले सुनको मूल्य अझै बढ्ने अनुमान रहेको शाक्यको भनाइ छ । व्यवसायी शाक्यका अनुसार सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार ६६६ डलरसम्म पुगेको छ । यो मूल्य आगामी डिसेम्बरसम्ममा ५ हजार डलर पुग्न सक्ने प्रक्षेपण छ ।
५ हजार डलर पुग्दा नेपाली बजारमा प्रतितोला ३ लाख रुपैयाँ पुग्नेछ । केही अर्थशास्त्रीहरूले भने बजारमा ‘करेक्सन’ आउने र मूल्य घटेर प्रतिऔंस ३ हजार डलरसम्म झर्न सक्ने अनुमान समेत गरेका छन् । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे प्रतितोला साढे २ लाख रुपैयाँसम्म झर्न सक्ने शाक्यको अनुमान छ । अमेरिकाले ग्रिनल्याण्ड लगायतका क्षेत्रमा देखाएको सक्रियता र विश्वव्यापी युद्धको माहोलका कारण पनि सुनको मूल्यमा यस्तो उतारचढाव आएको हो ।
पछिल्लो समय सुनको मूल्य उच्च हुँदा नेपाली बजारमा व्यापार शून्य जस्तै रहेको शाक्यले बताए । उनले भने, ‘अहिले विवाहको सिजन भए पनि बजारमा सुनको कारोबार निराशाजनक छ । सामान्यतया माघ र फागुन महिनामा दैनिक ५० देखि ६० किलोसम्म सुनको माग हुन्थ्यो । अहिले नगण्य रहेको छ ।’ उनका अनुसार बैंकहरूमा १३७ किलो सुन थन्किएर बसेको छ तर किन्ने ग्राहक छैनन् । अहिले विवाहका लागि नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना ल्याएर त्यसमा थपघट गरी काम चलाउने प्रवृत्ति बढेको छ ।
गहनाका लागि सुन किन्ने ग्राहक घटे पनि लगानीका रूपमा सुन र चाँदीका ढिक्का किन्नेहरूको संख्या भने केही मात्रामा देखिएको छ । बैंकको ब्याजदर कम हुनु र लगानीका अन्य क्षेत्र सुरक्षित नदेखिनुले पनि मानिसहरूले सुनलाई लगानीको सुरक्षित माध्यम बनाउन थालेका हुन् ।
प्रतिक्रिया