(Saturday , 08 November,2025)

प्रहरीको आन्तरिक छानबिन प्रतिवेदन : जेन-जी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  २३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेन-जी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ ।

प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो । ‘त्यसबेला प्रारम्भिक विवरण मात्र संकलन भएको थियो, भण्डारमा भएको गोलीगठ्ठासँग भिडाएर पूर्ण विवरण लिनै बाँकी थियो,’ समिति स्रोतले भन्यो, ‘सबै विवरण संकलन भएपछि उल्लेख गरेर प्रतिवेदन बुझाएका छौं ।’

प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत्यकामा १ हजार ९९३, कोशी प्रदेशमा २९९, मधेश प्रदेशमा ६३९, बागमतीमा १६, गण्डकीमा ४४, लुम्बिनीमा १७०, कर्णालीमा २ र सुदूरपश्चिममा ३०७ धातुका गोली प्रहार भएको पाइएको छ ।


प्रतिवेदनमा उल्लेख भएअनुसार, २ दिनमा ८ हजार ६५४ अश्रुग्यास प्रहार भएको पाइएको छ । त्यसमध्ये प्रहरी प्रधान कार्यालयले मात्र १ हजार ३५७, काठमाडौं उपत्यका प्रहरी र अन्तर्गत ४ हजार ४९, कोशी प्रदेशमा ८४५, मधेशमा ३७४, बागमतीमा ७८, गण्डकीमा ३६६, लुम्बिनीमा ४४९, कर्णालीमा ४५५, सुदूरपश्चिममा ३८७ अश्रुग्यास प्रहार भएको पाइएको छ । प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयले ५१६, काठमाडौं उपत्यकाले १ हजार ६८३, कोशीले १५१, मधेशले ६९, बागमतीले ११, गण्डकीले १७१, लुम्बिनीले २८, कर्णालीले १३६ र सुदूरपश्चिममा ११ वटा रबरको गोली प्रहार भएको थियो । प्रहरी प्रधान कार्यालय, उपत्यका र सातवटै प्रदेश गरेर २ हजार ९२० ब्ल्यांक फायरिङसमेत भएको थियो । यसरी दुई दिनमा १८ हजार ३७३ पटक फायरिङ भएको पाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको पुष्टि गरे पनि त्यसको विस्तृत विवरण आफूलाई थाहा नभएको जनाए । ‘यो आन्तरिक प्रयोजनका लागि बनेको छानबिन समिति हो, प्रहरी कार्यालयमा भएका क्षतिलगायतका विवरण संकलन गरिएको हो,’ उनले भने, ‘अरु कतिपय विषयहरु चाहिँ आन्तरिक प्रयोजनका लागि मात्र हुन् ।’ प्रहरी अधिकारीहरुका अनुसार, प्रतिवेदनमा जेन-जी आन्दोलनमा काठमाडौंमा मात्रै प्रहरीको १ अर्ब १९ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको उल्लेख छ । ललितपुरमा १९ करोड र भक्तपुरमा ८ करोड रुपैयाँबराबरको क्षति पुगेको भनिएको छ ।

धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पेस्तोलबाट चलेका थिए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको मृतकको पोस्टमार्टम प्रतिवेदनमा समेत मृत्युको कारण ‘हाई भेलोसिटी आर्म्स’ (तीव्र गतिको हतियार) बाट प्रहार भएको गोली रहेको उल्लेख छ । २३ र २४ भदौमा गरेर गोली लागेर ३९ जना मारिएका थिए, तीमध्ये अधिकांशको कम्मरमाथि गोली लागेको थियो । काठमाडौं उपत्यकामा मात्र गोली लागेर ३५ जना मारिएकोमा १९ जनाको छाती, १० जनाको टाउको, ४ जनाको पेट र २ जनाको घााटीमा गोली लागेको फरेन्सिक रिपोर्ट छ । अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार, लगभग सबै जसो मृतकलाई टाढाबाट आएको ‘हाई भेलोसिटी विपन’ (तीव्र गतिको हतियार) को गोली लागेको पाइएको छ ।

प्रहरीबाट अत्यधिक संख्यामा गोली चलेकोबारे राष्ट्रिय मानवअधिकार आयोगले समेत छानबिन गरिरहेको छ । आयोगकी सदस्य लिली थापा नेतृत्वमा बनेको अनुसन्धान समितिले गोली प्रहारका विषयलाई गम्भीरतापूर्वक जाँच गरिरहेको प्रवक्ता डा. टिकाराम पोखरेलले बताए । ‘मानवअधिकारका दृष्टिले पहिलो दिनको गोली प्रहारका घटना अझ गम्भीर भएकाले त्यससँग सम्बन्धित विषयलाई प्राथमिकता दिएर छानबिन गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म चाँडै प्रतिवेदन ल्याउने गरी काम भइरहेको छ ।’

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जीले २३ भदौमा सडक प्रदर्शन गरेका थिए । डिस्कर्ड र रेडिटबाट संगठित भएका युवा माइतीघरमा भेला भएर अघि बढेका थिए । उनीहरूले दिउँसो १२:३५ बजे ब्यारिकेड भत्काएर अघि बढेका थिए । प्रदर्शनकारीलाई त्यहीं रोक्नुपर्नेमा असफल भएको प्रहरीले प्रदर्शनकारी संसद् भवनतिर प्रवेश गरेपछि चाहिँ अन्धाधुन्ध गोली चलाएको थियो ।

पहिलो दिन प्रहरीको अत्यधिक दमनबाट १९ जनाको मृत्यु भएपछि झन् आक्रोश बढ्यो र २४ भदौमा अझ बढी प्रदर्शनकारी सडकमा उत्रिए । दुवै दिनको घटनामा मृत्यु भएकाको संख्या ७६ पुग्यो । नेपालगन्जस्थित बाल सुधारगृहमा ५ बालबन्दी, धादिङमा २ र रामेछापमा ३ कैदीको समेत मृत्यु भयो । २० जनाको भाटभटेनी सुपरमार्केटमा जलेर ज्यान गयो । प्रदर्शनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो ।

२४ भदौमा प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतलगायतमा समेत आगजनी भएको थियो । क्षणभरमै तीव्रगतिमा फैलिएको आगोबारे समेत प्रहरीले अहिले फरेन्सिक जाँच गरिरहेको छ । आगोको फैलावटपछि सार्वजनिक रुपमा प्रश्न उठ्न थालेपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक विज्ञ समेत रहेको समिति बनाएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यको नेतृत्वमा रहेको समितिले अहिले आगजनी भएको स्थानबाट नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ । टोलीले आगजनीमा कुनै केमिकलको प्रयोग भए/नभएको पत्ता लगाउनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal