काठमाडौँ । भदौ २४ को प्रदर्शनमा भएको क्षतिको परेको बिमा दाबीमध्ये पौने १६ अर्ब रुपैयाँ बिमा कम्पनीहरुले नेपाल पुनर्बिमा कम्पनीमा दाबी गरेका छन् । बिहीबारसम्म नेपाल पुनर्बिमा कम्पनीमा निर्जीवन बिमा कम्पनीहरूबाट कुल २ हजार ७ सय ३३ वटा पुनर्बिमा दाबी परेको र पुनर्बिमा दाबी रकम करिब १५ अर्ब ७६ करोड ४३ लाख रहेको बिमा प्राधिकरणले जनाएको छ ।
जसमध्ये पुनर्बिमा कम्पनीले हालसम्ममा करिब १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेस्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्यांकन तथा अनुगमनका लागि संयुक्त बिमा सर्भेयर खटाएको बताइएको छ । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीको अद्यावधिक तथ्यांक निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ३ हजार १६६ वटा बिमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बिमा कम्पनीहरूले दिएका छन् ।निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार, कुल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब २ अर्ब १ करोड ९८ लाख बिमितहरूलाई भुक्तानी भइसकेको बताइएको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्यांकन एवं अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी निर्जीवन बिमकहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया