(Sunday , 15 March,2026)

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो । समितिकी सभापति कुसुमदेवी थापाले निकुञ्ज तथा संरक्षण क्षेत्रमा पर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेर पनि काम रोकिएको भन्दै सहजीकरणका लागि मन्त्रालयलाई निर्देशन पनि दिइएको बैठकपछि बताइन् ।

बैठकमा सांसद वीरेन्द्र महतोले वातावरण संरक्षणका नाममा विकासको काम रोक्न नहुने भन्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । सांसद सरस्वती सुब्बाले वातावरण संरक्षणका लागि विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने नीति लिने तर वनकै कारण जलविद्युत् आयोजना अगाडि बढ्न बाधा पुग्ने कार्य हुनु उचित नभएको धारणा व्यक्त गरिन् ।

सांसद मीना तामाङले जलविद्युत् आयोजनालाई सहजीकरण गर्ने नाममा वातावरण विनाश गर्न नहुने बताइन् । यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले लगानी र इआइए भइसकेका जलविद्युत् आयोजनाको हकमा कानुनी अड्चन फुकाउन आवश्यक भएको बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal