(Sunday , 31 May,2026)

रसुवाको बाढीमा २० जना बेपत्ता

mountainejournal.com

mountainejournal.com

रसुवा- नेपाल र चीन जोड्ने ल्हेन्दे (भोटेकोशी) खोलाबाट आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । मंगलबार बिहानको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति हुँदा दुईतर्फी आवागमन बन्द भएको छ ।

बाढीमा २० जना बेपत्ता भएका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, डिब्बा चालक पाँच जना र चिनियाँ नागरिक ६ जना रहेका छन् ।

यसैगरी बाढीले रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा ठूलो क्षति भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीमा २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । बाढीले ड्याम साइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी २० मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रमा बाढीको लेदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’ को ड्याम साइटमा पनि क्षति भएको विद्युत प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको सहप्रजिअ अधिकारीले बताए । ‘ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा केरुङसँगको सिधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोशमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal