(Sunday , 15 March,2026)

धानबालीलाई सधैं मल अभाव

१३ लाख माग गरिएकोमा ४ लाख टन मात्रै आपूर्ति

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । धानबाली लगाउने किसानलाई हरेक वर्ष मल अभाव हुने गरेको छ । विगतका वर्ष जस्तै यो पटक पनि रासायनिक मल अभाव देखिएको हो । यो वर्ष अभाव हुन नदिन सरकारले रासायनिक मल खरिदका लागि बजेट बढाए पनि अभाव भने कायमै रहेको छ । धानबालीमा किसानलाई मलको सहज आपूर्ति व्यवस्थापन गर्ने ५ लाख ५० हजार टन मल खरिद गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८१/८२ का लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

तर, अहिले देशभरका कृषकले धानबालीमा मल राख्न नपाएको गुनासो गरेका छन् । कृषक समूह महासंघ नेपालका अध्यक्ष पन्चकाजी श्रेष्ठका अनुसार देशभरी नै अहिले कृषकले सहज रूपमा मल पाइरहेका छैनन् । एउटा कृषकले जम्मा १० देखि १५ किलो मात्र मल पाएका छन् । त्योभन्दा बढी खरिद गर्छुभन्दा पाइदैन् । कुनै ठाउँमा १० देखि १५ किलो पनि मल नभएको गुनासो किसानले आफूसँग गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हाल धेरै समस्या पहाडी जिल्ला र पश्चिम क्षेत्रमा रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकले पछिल्लो समय सहज रूपमा मल नपाइरहेको कुरा स्वीकार गरेका छन् । कृषिमन्त्री अधिकारीले भने,‘किसानको माग धेरै छ, आपूर्ति कम हुँदा स्वाभाविक रूपमा अभाव छ । सबै क्षेत्रका लागि १३ लाख टन मल आवश्यक पर्छ । हामीले करिब ४/५ लाख टन मात्र मल आयात गर्छाैं । माग भन्दा आपूर्ति कम भएपछि अभाव हुने नै भयो ।’ तर, सरकारले किसानलाई मल दिनुपर्छ ।

पछिल्लो समय मलको अभाव देखिनुका कारण सडक पनि रहेको उनले बताए । नारायघाटको बाटो अरोध हुँदा आयात भएको मलसमेत ठाउँमा पुर्‍याउन नसकेको मन्त्रालयले बताएको छ । करिब ६०/७० हजार टन मल मौज्दात रहेको पनि मन्त्रालयले बताएको छ । केही मल कोलकतामा आइसकेको छ भने केही आउने क्रममा रहेको छन् । मन्त्री अधिकारीले भने,‘हामीसँग भएको मल कसरी सहज आपूर्ति व्यवस्थापन गर्ने विषयमा छलफल गरेका छौँ ।

सक्दो किसानलाई मल आपूर्ति गराउने व्यवस्था गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए । विभिन्न ठाउँबाट मल नपाएको किसानको गुनासो आइरहेको छ । हामीसँग ६०/७० हजार टन मौज्दात भएकाले ठूलो हाहाकार भएको अवस्था नरहेको मन्त्री अधिकारीले बताए । पछिल्लो समय रासानियक मलको माग बढ्दै जाँदा बर्सेनि मल अभाव हुने गरेको कृषि तथा पशुपन्छी मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख सहसचिव रामकृष्ण श्रेष्ठले बताए ।

सहसचिव श्रेष्ठका अनुसार देशभर १३ लाख टन रासायनिक मलको आवश्यकता पर्छ । तर, सबै क्षेत्रमा कृषकले रासायनिक मल मात्र प्रयोग नगर्ने हुँदा करिब ७ लाख टन मल हुँदा धानबालीलाई मल अभाव नहुने उनको भनाइ छ । हाल सरकारले रासायनिक मल खरिदका लागि छुट्याइएको बजेटले करिब ४ लाख टन मल खरिद भएको छ । कृषकको मागअनुसार उक्त मलले नपुग्ने हुँदा हाल विभिन्न क्षेत्रमा मल अभाव देखिएको श्रेष्ठले बताए ।

किसानलाई मलको अभाव हुन नदिन प्रांगारिक मल प्रयोग गर्न प्रोत्साहित गर्नु अर्काे विकल्प नभएको श्रेष्ठको भनाइ छ ।अत्यधिक रासायनिक मल प्रयोगले माटोको स्वास्थ्य बिग्रदैं गएकाले कृषकलाई पनि रासायनिक मल भन्दा प्रांगारिक मलको प्रयोगमा बढी बाध्य दिन आवश्यक रहेको उनको भनाइ छ । हाल देशभरका विभिन्न क्षेत्रमा मल अभाव देखिएको छ । तर, हाहाकार नै नभएको उनले बताए ।

सहसचिव श्रेष्ठका अनुसार हाल ७४ हजार ६१२ टन मल मौज्दात छ । जसमा युरिया ४२ हजार ९५ टन छ भने डिएपी २४ हजार ४७ टन छ । यस्तै पोटास ८ हजार ४ सय ६९ टन छन् । चालु वर्षमा अनुदानको मल किन्न २७ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ । उक्त रकमबाट ५ लाख ५० हजार टन खरिद गर्ने लक्ष्य छ । गत आर्थिक वर्षको परिमाणलाई हेर्दा १५ असारसम्म ३ लाख ६९ हजार १५ टन मल आयात भएको छ ।

साल्ट टे्रडिङ कम्पनीको ३४ हजार टन युरिया मल कोलकोत्ताबाट नेपाल प्रवेश गरेको अवस्था छ । कृषि सामग्री कम्पनीको ३० हजार टन युरिया स्रोत मुलुकमा लोडिङ भई कोलकोत्ता आइरहेको र नेपाल आयात हुने क्रममा रहेको छ । साल्ट टे्रडिङले अर्काे २२ हजार टन युरिया स्रोत मुलुकमा लोडिङ भई कोलकोत्ता आउने क्रममा रहेको र कृषि सामग्री कम्पनीको ३० हजार टन डिएपी स्रोत मुलुकबाट सिपमेन्ट भई कोलकोत्ता आइपुगेको मन्त्रालयले बताएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal