काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बारास्थित जारी गढिमाई मेलाको खाद्यवस्तुको परीक्षण गरिएको छ । विभागले र्यापिड रेसपोन्स टिमले मोवाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बारास्थित गढीमाई मेलाको खाद्य वस्तुको परिक्षण गरिएको हो ।
विभागका अनुसार अनुमगनका क्रममा दूध, खुवा, प्रशोधित पिउने पानी, कटन क्याण्डी, लड्डू, जेरी, चप, पानी पुरी तथा तेल लगायतका गरी १३८ वटा नमूनाहरुको स्थलगत प्रयोगशाला परिक्षण चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा कैफियत पाईएका तेल, रंगिन मिठाई र कटन क्याण्डी नष्ट गरी कारवाही समेत गरेको विभागले जानकारी दिएको छ ।
सो मेलामा उपस्थित उपभोक्ता तथा बिक्रेता समेतलाई खाद्य स्वच्छताबारे जानकारी एवं सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निरीक्षण अनुगमन गरिएको हो । मेला महोत्सवहरुमा विक्रि वितरण हुने खाद्य पदार्थहरुमा अत्याधिक रंगको प्रयोग, उपभोग्य अवधि समाप्त भएका खाद्य वस्तुहरुको विक्रि वितरण, खाद्य वस्तुहरु तार्न एउटै तेलको बारम्बार प्रयोग, लेखिएको मसि भएको कागजमा खाद्य पदार्थहरुको प्याकिङ, अखाद्य रंगहरुको प्रयोग, खाद्य वस्तुहरुको उचित तामक्रममा भण्डारणको अभाव, खाद्य वस्तुहरु तयार गर्दा सरसफाइको कमी जस्ता समस्याहरु पाइएको विभागले जनाएको छ ।
जसबाट उपभोक्ता स्वास्थ्यमा असर पर्न सक्ने तथा खाद्य स्वच्छता कायम हुन नसक्ने हुँदा यस्ता मेला महोत्सवहरुमा अनुगमन तथा उपभोक्ता सचेतना कार्यहरु विभागले गर्दै आएको छ । यसैगरी गढिमाई मेला सञ्चालन अवधिभर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सावाट नियमित अनुगमन हुने व्यवस्था विभागले जानकारी दिएको छ । मेलामा विक्रिवितरण हुने खाद्य वस्तुको गुणस्तरमा कुनै संका लागेमा विभाग वा विभाग मातहतको डिभिजन कार्यालय पर्सामा गुनासो पठाउन समेत आमउपभोक्तालाई सचेत गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया