(Saturday , 08 February,2025)

खाद्य कम्पनीले किन्यो ७६ हजार क्विन्टल धान

mountainejournal.com

mountainejournal.com

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७६ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले करिब तीन सातामा विभिन्न जिल्लाबाट यो परिमाणमा धान खरिद गरेको हो ।

यो वर्ष कम्पनीले धान खरिदका लागि २ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको छ भने ७३ हजार ६ सय २० टन धान खरिद गर्ने लक्ष्य लिएको छ । मंसिर १३ सम्म विभिन्न जिल्लामा ७६ हजार क्विन्टल धान खरिद भएको कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलले जानकारी दिए । उनका अनुसार खाद्य कम्पनीले सुदूरपश्चिम प्रदेशबाट कात्तिक २१ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो ।

यो वर्ष २४ जिल्लामा धान खरिद गर्ने कम्पनीको योजना छ । केही जिल्लामा कम्पनीले धान खरिद गरिरहेको छ भने केही जिल्लामा खरिदको तयारी भइरहेको पौडेलले बताए । उनका अनुसार कम्पनीले धनगढी, नेपालगञ्ज, महेन्द्रनगर र तुलसीपुरमा धान खरिद तीव्र गतिमा गरिरहेको छ । अन्य स्थानमा पनि धान खरिदका लागि तयारी भइरहेको पौडेलले जानकारी दिए ।

उनका अनुसार कम्पनीले विभिन्न जिल्लाबाट दैनिक चारदेखि पाँच हजार क्विन्टल धान खरिद गरिरहेको छ । यो वर्ष कम्पनीले लिएको लक्ष्य पूरा हुने अधिकारीहरुले बताएका छन् । कात्तिक २१ बाट धान खरिद सुरु गरिएकोमा मंसिर १३ सम्ममा धनगढीमा २५ हजार ८ सय ५६ क्विन्टल खरिद भएको छ । यसैगरी नेपालगञ्जमा २ हजार २ सय ४० क्विन्टल मोटा र १५ हजार क्विन्टल मसिनो धान धान खरिद भएको छ । तुलसीपुरमा १ हजार ६ सय ३२ क्विन्टल र महेन्द्रनगरमा २ हजार २ सय ६० क्विन्टल खरिद भएको छ ।

धान खरिदमा कुनै समस्या नभएको कम्पनीले बताएको छ । किसानले आफ्नो सहजताअनुसार धान बिक्री गरिरहेको प्रमुख पौडेलले बताए । उनले भने, ‘गत वर्ष सरकारले सहकारीलाई धान खरिदका लागि केही अनुदान दिएको हुँदा किसानबाट संकलन गरी सहकारीले खाद्य कम्पनीलाई धान बिक्री गरेका थिए । यो वर्ष अनुदान नदिएको हुँदा सहकारीले धान नल्याउँदा संकलनमा केही कमी देखिएको हो । यद्यपि कम्पनीले आफ्नो योजनाअनुसार धान खरिद गरिरहेको छ । तीन महिनासम्म कम्पनीले किसानबाट धान खरिद गर्छ ।’ पश्चिममा धान छिटो पाक्ने हुँदा खरिद पनि छिटो सुरु भएको र पूर्वमा केही ढिलो पाक्ने हुँदा खरिद पनि ढिलै हुने उनले बताए ।

यो वर्ष पहिलो पटक कम्पनीले पोखराबाट जेठोबूढो बासमती धान पनि खरिद गर्न लागेको छ । व्यापारीले किसानलाई प्रतिकिलो ९५ रुपैयाँ दिइरहेकोमा कम्पनीले १०० रुपैयाँमा धान खरिद गर्ने तयारी गरेको शाखा प्रमुख पौडेलले बताए । गत वर्ष कम्पनीले १ अर्ब ७४ हजार बजेटमा ५० हजार २ सय टन धान खरिद गर्ने लक्ष्य लिएकोमा करिब ४ हजार ५ सय टनमात्र धान खरिद गर्न सकेको थियो । सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी किसानलाई व्यापारीले दिँदा खाद्य कम्पनीले पर्याप्त धान खरिद गर्न नसकेको हो । यो वर्ष गत वर्षको भन्दा धान खरिदको परिमाण र रकम दुवै बढाइएको छ । कम्पनीले गत वर्षको तुलनामा धान खरिद गर्ने लक्ष्य २३ हजार ४ सय २० टन बढाएको छ भने बजेट पनि ९१ करोड रुपैयाँ बढी छ ।

सरकारले चालु आवका लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ मूल्य निर्धारण गरेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ र मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । गत वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा व्यापारीले धेरै मूल्य दिएका थिए । यही कारण कम्पनीले धान खरिद गर्न सकेको थिएन ।

कम्पनीले खरिद गर्ने जिल्ला र लक्ष्य
१. कञ्चनपुर– १,५०० टन
२. कैलाली– ५,५०० टन
३. बर्दिया– १०,००० टन
४. बाँके– ५,००० टन
५. दाङ– १,८०० टन
६. कपिलवस्तु– २,००० टन
७. रुपन्देही– १,८०० टन
८. नवलपरासी– (पश्चिम÷पूर्व) २,००० टन
९. चितवन– १,००० टन
१०. मकवानपुर– १,००० टन
११. पर्सा– ४,५०० टन
१२. बारा– २,००० टन
१३. रौतहट– २,००० टन
१४. सर्लाही– २,००० टन
१५. महोत्तरी– ३,००० टन
१६. धनुषा– ४,५०० टन
१७. सिराह– ४,००० टन
१८. सप्तरी– १,५०० टन
१९. सुनसरी– ३०० टन
२०. मोरङ– ३,००० टन
२१. झापा– ५,००० टन
२२. जुम्ला– २० टन
२३. उदयपुर– ८०० टन
२४. कास्की– ५० टन
जम्माः ७३,६२० टन

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal