काठमाडौँ । यसवर्षको कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ए का प्रतिकेजी १ सय रुपैयाँ मुल्य निर्धारण गरेको हो । गत वर्षको मूल्य भन्दा प्रतिकेजी ५ रुपैयाँ बढाएर बोर्डले यस वर्षको मूल्य १ सय रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष फ्रेस चेरी बी प्रतिकेजी ९० रुपैयाँ मुल्य निर्धारण गरेको थियो । बोर्डले हरेक वर्षको मंसिर १ गते लागू हुने गरी कफीको मूल्य निर्धारण गर्दै आएको छ ।
बोर्डले यसलाई निरन्तरता दिदै बिहीबार यस वर्षका लागि कफीको मूल्य निर्धारण गरेको हो । बोर्डका अनुसार फ्रेश चेरी बीको प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरेको छ । गतवर्षका यसको ८५ रुपैयाँ थियो भने यो वर्षको प्रतिकिलो ५ रुपैयाँ बढाएर ८० पुराएको हो ।
यस्तै पार्चमेन्ट प्रशोधित कफीतर्फ ‘ए ग्रेड’ को प्रतिकिलो ५ सय रुपैयाँ निर्धारण गरेको छ भने बी ग्रेडलाई ४५० रुपैयाँ नै कायम गरिएको छ । यस्तै ड्राइचेरी ‘ए ग्रेड’ प्रतिकिलो २ सय रुपैयाँ कायम गरेको छ भने ड्राइचेरी बी १५० रुपैयाँ निर्धारण गरेको छ । कफी बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले आर्थिक वर्ष २०७९÷८० मा नेपालभर ३९४.४ मे.टन ग्रीन वीन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको जानकारी दिए ।
निर्देशक भट्टराईका अनुसार आर्थिक वर्ष २०७८।०७९ को तथ्यांक अनुसार १२ करोड ७६ लाख बराबरको ७९.८ मे.टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९.५ मे.टन मात्रै कफी निर्यात छ । आर्थिक वर्षमा २०७९÷०८० को तथ्यांक अनुसार १३ करोड ४ लाख बराबरको ७७.८६ मे. टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४५० मे.टन कफी आयात भएको छ । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ ।
नेपाली कफी निर्यात हुँदा सरदर प्रति केजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै २–३ गुणा बढी मुल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ । दिनानुदिन कफी सेवनकर्ताहरुको माग बढ्नु र युवाहरुको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको उनले जानकारी दिए । आन्तरिक माग पुर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ उनको भनाइ छ ।
प्रतिक्रिया