काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणमा राजनीतिक नेतृत्वको उच्च तह तानिँदै गएको छ । यो प्रकरणको सुरुमै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विवादमा आएका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी हुँदै गर्दा सार्वजनिक कार्यक्रममा विशेष अतिथि रहेका रायमाझी त्यसपछि फरार छन् ।
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड पनि यो विवादमा मुछिएका छन् । यसैक्रममा आइतबार नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँड तानिएका छन् । यी दुवैलाई यो गिरोहका सदस्यहरुले पैसा बुझाएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । करिब एक मिनेटको अडियोमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी हुँदा देउवा र खाँडको समेत नाम लिइएको छ । अडियोमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाँडलाई ६ करोड बुझाएको भनिएको छ । खाँडलाई हनुमानथानको घरमै पुगेर रकम बुझाएको बताइएको छ ।
राणा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् भने खाँड पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्णकी पत्नी हुन् । प्रहरीले यो अडियोको स्वतन्त्र रुपमा जाँच गरिसकेको छैन । पीडितले जाहेरी बुझाउँदा नै प्रहरीलाई अडियो बुझाएका थिए भनिएको छ । अडियोेमा भनिएजस्तो देउवा र खाँडलाई पैसा बुझाएको सत्य हो–होइन यकिन गर्न अनुसन्धान सुरु गरिएको छ ।
यही अडियोका कारण आइतबारको संसद् बैठकमा दुवै नेतृको विषयले प्रवेश पाएको छ । राणाले बैठकमै यसको प्रतिकार गरेकी छन् । उनले भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने आफ्नो प्रश्न भएको बताएकी छन् । उनले एउटी नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ भन्दै जसले जति आलोचना गरे पनि आफूले केही नबिराएकाले नडराउने बताइन् ।
सांसद खाँडको सचिवालयले पनि सामाजिक सञ्जालमा आइरहेका अडियो झुटो भएको दाबी गरेको छ । पूर्वगृहमन्त्री खाँडले पनि यसअघि विज्ञप्ति जारी गरेर आफू यस घटनामा संलग्न नभएको बताएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेका छन्, जसमा एक सय बढी पीडित छन् । यो प्रकरणको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ, जसमध्ये बहालवाला सचिव टेकनारायण पाण्डे पनि छन् ।
कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाललगायत सानु भट्टराई, टंककुमार गुरूङ, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी, सन्देश शर्मा र सागर राई पनि पक्राउ परिसकेका छन् ।
पीडितहरूले सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले चैत १२ मा तीन जनालाई पक्राउ गरेको थियो । यो घटनाका गिरोहले प्रत्येक पीडितबाट ५ देखि ५० लाख रुपैयाँसम्म उठाएर करोडौं रकम असुल गरेको प्रहरीको दाबी छ ।
भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । त्यही प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको नाम उल्लेख गरी अनुसूचीसमेत थप गरिएको भनिएको छ । प्रतिवेदनमा ८ सय ७५ जनाको नाम समावेश गरिएको छ ।
संसद्मा के भयो ?
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्को बहस भएको छ । बैठकमा सत्तारुढसहित प्रमुख प्रतिपक्षी एमाले, नेमकिपा र स्वतन्त्र पार्टीका सांसदले नक्कली भुटानी शरणार्थीको नामबाट नेपालीलाई अमेरिका पठाउने प्रकरण उठाएका हुन् ।
दोषी पाइए राजनीति छोड्छुः खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफू संलग्न भएको पुष्टि कसैले गरे राजनीतिक जीवनबाट बाहिर निस्कने बताए । “मेरो नाम र पूर्वप्रधानमन्त्रीको नाम राखेर समाचार आएका छन्, फलानाको पनि छानबिन हुनुपर्छ भनेर । यदि कहीँबाट पुष्टि भए वा म संलग्न छु भने सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु,” उनले संसद्मा भने ।
ओलीमाथि पनि छानबिन गरौं: चौधरी
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताए । उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवले समेत स्वीकार गरिसकेको भन्दै त्यतिबेला सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
थापाको संलग्नताः सुवाल
सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए । ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन्? उनको प्रश्न थियो ।
भ्रष्टाचारको नमुनाः सिंह
सांसद अमरेशकुमार सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए । कर्मचारी फसाउने अनि राजनीतिक नेतृत्व जोगिने गलत प्रवृत्ति अगाडि बढेको सिंहको भनाइ थियो । भुटानी शरणार्थीको नाममा नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको उनले दाबी गरे ।
सचिव थप सात दिन थुनामा
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेश पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन् ।
यी सबैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । प्रहरीले यो प्रकरणमा एमाले सांसद रायमाझी लगायत केही व्यक्तिविरूद्ध पक्राउ अनुमति लिएको छ । तर, सबै फरार छन् ।
ओलीको आक्रोश
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीविरूद्ध अभियान चलाउन खोजिएको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले उक्त प्रकरणमा व्यक्ति दोषी हुन सक्ने तर पार्टीलाई नै मुछ्न खोजिएको बताएका हुन् । आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस विषयमा कुनै दबाब पनि नदिएको उनले स्पष्ट पारे । आफूसँगको भेटपछि प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा कसैको दबाबमा पर्दिनँ भनेकोमा उनले आश्चर्य व्यक्त गरे । अध्यक्ष ओलीले आफूलाई बोलाएर प्रधानमन्त्रीले अरू प्रसंगमा कुरा गरेको तर बैठक सकेर निस्किएपछि दबाबमा पर्दिनँ भन्दै ‘फुइँ’ लगाएको बताए । कारोबार
प्रतिक्रिया