(Tuesday , 28 April,2026)

राष्ट्रिय सहकारी महासम्मेलन

mountainejournal.com

mountainejournal.com

काठमाडौं । बिहिबारदेखि तीन दिन तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने थालेको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुन थालेको हो । महासम्मेलन २३ चैतदेखि २५ सम्म राजधानीको होटल याक एण्ड यतिमा हुनेछ । 
 महासम्मेलनमा देशभरका सहकारीकर्मी, नेपाल सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, बैंकर्स, गैरसरकारी संस्थाका प्रतिनिधि, सहकारीका सरोकारवाला निकायका प्रतिनिधिका र विदेशी पाहुनासहित करिब १ हजार जनाको सहभागिता रहने आयोजक सहकारी महासंघले जानकारी गराएको छ । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको हो । 
महासम्मेलनमा सहकारी क्षेत्रको उपलब्धी, सहकारी क्षेत्रमा देखिएको वर्तमान समस्या, समाधानको बाटो, आगामी कार्यदिशाको बारेमा घनिभूत छलफल हुने महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । 

आयोजकाअनुसार महासम्मेलनबाट सन् २०३० सम्मको कार्यदिशा पनि तय गरिनेछ । दक्षिण एशियाका अन्य देशहरु मध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहँदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिएको महासंघका अध्यक्ष कडेलले बताए । 

महासम्मेलनकै अवसरमा अन्तर्राष्ट्रिय सहकारी महासंघ, एसिया प्रशान्त क्षेत्र र नेडाकको बोर्ड बैठक समेत काठमाडौँमा हुने अध्यक्ष कडेलले बताए । महासम्मेलनको उद्घाटन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने  र  समापन २५ (शनिबार) पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ । 

कार्यक्रम तय भएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल गरी घोषणा पत्र जारी गरिने जानकारी दिइन् । महासम्मेलनमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले पनि कार्यपत्र प्रस्तुत गर्ने महासंघले जनाएको छ ।

यस्तै,महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले प्रत्येक ५÷५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal