भरतपुर, । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् ।
सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताए ।
“पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय तहले विभिन्न पूर्वाधार निर्माणका साथै समन्वय गर्दै आएको छ”, उनले भने, “निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ ।” उनले शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।
भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटरको यात्रापछि पटिहानी पुग्न सकिन्छ ।
कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक पटिहानीको वातावरणमा खुसी देखिन्छन् ।
जर्मनीबाट आउनुभएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए । उनले नेपाल प्राकृतिकरुपमा सुन्दर रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पाउनु आफूहरुको सौभाग्य भएको बताए ।
पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिङ्गे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन् महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला–ठूला सुविधा सम्पन्न होटल निर्माण गरिएको वडाध्यक्ष महतोले बताए । पटिहानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय संरचना निर्माण गरिएका छन् ।
स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ । भरतपुरमहानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ । महानगरपालिकाभित्र निर्माण गर्न लागिएको चक्रपथ पनि यही क्षेत्र भएर जान्छ ।
उनले खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर–२२ का दीपक पौडेल बताउँछन् ।
चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म एक लाख ९१ हजार आठ सय ८३ जना निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गत आवमा एक लाख ९० हजार चार सय ५८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा बढी छ । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी देख्न पाइन्छ ।
प्रतिक्रिया