(Sunday , 03 May,2026)

विश्व उपभोक्ता दिवसकै दिनमा सरकारले दियो उपभोक्तालाई महँगीको उपहार, ११ रुपैयाँलले बढ्यो दुधको मूल्य

mountainejournal.com

mountainejournal.com

काठमाडौं । संसारभरका सर्वसाधारणले उपभोक्ता अधिकार दिवस मनाउँदै गर्दा सरकारले उपभोक्तालाई दूधमा महँगीको उपहार दिएको छ । सरकारी पूर्ण स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर दूधमा ११ रुपैयाँले मूल्य बढाएको हो । मार्च १५ लाई संसारभर नै उपभोक्ता अधिकार दिवस मनाइन्छ । नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको थियो ।

राजधानीमा आयोजित कार्यक्रमका सहभागीले पछिल्लो समय भइरहेको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगो भएको गुनासो गरेका थिए । उनीहरुले सरकारलाई तत्काल महँगी नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिन आग्रह पनि गर्दै थिए । तर, अर्कोपट्टि सरकारी संस्थानले प्रतिलिटर दूधमा ११ रुपैयाँ बढाउने समर्थन पाउँदै थियो । संस्थानलाई दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य ७.८८ प्रतिशतले बढेको छ । यो गत वर्षको तुलनामा १ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समग्रमा ७ दशमलव ८८ प्रतिशत महँगी देखिए पनि खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य १५ दशमलव २४ प्रतिशत पुगेको छ । यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले महँगी बढेको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ९ दशमलव २२ प्रतिशत पुगेको छ । यस्तै, मदिराजन्य पेय पदार्थमा ८ दशमलव ७८ प्रतिशत र मरमसलामा ८ दशमलव ०४ प्रतिशतले मूल्यवृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य १५ दशमलव ५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १० दशमलव ३९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ८ दशमलव ४७ प्रतिशत, तराईमा ७ दशमलव ८२ प्रतिशत, पहाडमा ७ दशमलव ३० प्रतिशत र हिमालमा ७ दशमलव ९२ प्रतिशतले महँगी बढेको देखिएको छ । गत वर्ष सोही अवधिमा यी क्षेत्रमा क्रमशः ५ दशमलव ४७ प्रतिशत, ६ दशमलव ५० प्रतिशत, ६ दशमलव ७१ प्रतिशत र ५ दशमलव ९७ प्रतिशत महँगी रहेको थियो ।
यो वर्षको सुरुदेखि नै चर्को महँगीको मारबाट पिल्सिएका आम उपभोक्तालाई बुधबारदेखि लागु हुने गरी सरकारले दूधमा थप महँगीको उपहार दिएको छ । दुग्ध विकास संस्थानका उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले मन्त्रालयको सहमतिमा संस्थानको बोर्ड बैठकबाट दूधको उपभोक्ता मूल्य वृद्धि गरेको जानकारी दिए । उनले प्रतिलिटर ११ रुपैयाँ बढाएर डीडीसीले लिँदै आएको ८६ रुपैयाँबाट ९७ रुपैयाँ कायम गरिएको बताए । डीडीसीको पोकाको दूध ४५ रुपैयाँबाट ४८ रुपैयाँ ५० पैसा पुगेको उपमहानिर्देशक अधिकारीले जानकरी दिए ।

गएको १९ फागुनमा सरकारले किसानलाई दूधको मूल्य बढाउने निर्णय गरेको थियो । किसानलाई मूल्य बढाएर दिएपछि चैत २ बाट लागु हुने गरी उपभोक्ता मूल्य पनि बढाइएको हो । अधिकारीका अनुसार अब दही तथा दूग्धजन्य वस्तुको मूल्य पनि केही दिनमा बढ्नेछ । यसका लागि लागत मूल्य हेरेर निर्णय गरिने उनले बताए ।

अधिकारीका अनुसार पछिल्लो समय उत्पादन कम हुँदा बजारमा दूध अभाव छ । संस्थानले दैनिक काठमाडौंमा मात्र ७५ हजार लिटर दूध बिक्री गर्दै आएको छ भने देशभरमा १ लाख लिटर बिक्री गर्छ । बजारको माग दैनिक १ लाख २० हजार लिटर भए पनि दूध अभावमा १ लाख लिटरमात्र बिक्री हुने गरेको उनले बताए ।

सरकारले गत १९ फागुनमा किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर ६५ रुपैयाँ पु¥याएको थियो । सरकारले किसानको मूल्य बढाउने निर्णय गरेको एक सातामा निजी क्षेत्रका डेरी उद्योगले दूध तथा दुग्ध पदार्थको मूल्यवृद्धि गरेका थिए । निजी डेरीहरूले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal