(Sunday , 30 August,2026)

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ अर्बभन्दा बढी रकम संकलन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँ जुटेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

शुक्रबार साँझसम्म ४ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको थियो । बाँकी रकम शनिबार थपिएको हो । विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो । सहयोग रकम संकलन हुने क्रम जारी छ । 

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायताका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गर्ने घोषण गरेको छ । ग्रुपले विपत्तिको समयमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्‍याउनु पहिलो प्राथमिकता भएको विज्ञप्तिमार्फत जनाएको छ । निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको प्रयासमा सक्दो योगदान दिनुपर्ने बताउँदै गुप्रले सहयोग रकम कोषमा प्रदान गर्न लागेको बताएको छ । 

चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावितका लागि बहुचरणीय राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेको छ । फाउन्डेसन र बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनःस्थापना कार्यक्रम घोषणा गरेको हो ।


फाउन्डेसन र बैंकका अध्यक्ष निर्माण चौधरीले प्रभावित परिवारलाई तत्काल राहत, नुवाकोट र रसुवामा राहत शिविर, ५०० अस्थायी आवास एकाइ निर्माण तथा दीर्घकालीन रूपमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन् ।

यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यक्रममार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनःस्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

 पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएका छन् । राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु समावेश छन् । पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ देखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको हो । यसका लागि फाउन्डेसन र बैंकका कर्मचारी स्थानीयस्तरमा परिचालित भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आईएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आईएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा कार्यरत कर्मचारीहरूका तर्फबाट समेत १ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने ग्रुपले जनाएको छ । विज्ञप्ति जारी गर्दै आईएमई ग्रुपले अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराउन लागेको प्रस्ट पारेको छ । 


आईएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको छ भने खल्ती वाई आईएमई मोबाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ । आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाइएको छ ।

व्यावसायिक घराना त्रिवेणी समूहले प्रधानमन्त्री कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । त्रिवेणी समूहका अध्यक्ष सुभाषचन्द्र संघईले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा त्रिवेणी समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा साकेत संघईको समेत उपस्थिति थियो ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयुर्वेद फर्माले ८२ लाख ३१ हजार बराबरको औषधि सहयोग गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरका औषधि उपलब्ध गराएको जनाएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमर्फत प्रभावित समुदायलाई सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १ करोड १ लाख १ रुपैयाँ सहयोग गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो आर्जित रकम तथा देश–विदेशमा रहेका शुभेच्छुक र सहयोगीबाट प्राप्त रकमबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । प्रतिष्ठानका कर्मचारीले पनि एक दिन बराबरको तलब कोषमा सहयोग गर्ने भएका छन् । 

प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निःशुल्क आँखा उपचार गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीलाई ग्रामीण आँखा केन्द्रको सहयोगमा टोली बनाएर जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । बैंकका अनुसार विपद्का बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal