२७ अगस्टमा नुवाकोटमा बाढीपछिको अवस्थाको अवलोकन गरिएको थियो। बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। हालसम्म ५०० भन्दा बढी मानिसको मृत्यु भएको र करिब १ हजार जना अझै बेपत्ता रहेको जनाइएको छ। यस्तै, करिब १० हजार घर बाढीले बगाएको तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ।
खोज तथा उद्धार कार्य अझै जारी रहेकाले विपद्को वास्तविक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
बाढीपछि प्रभावित समुदायमा खाद्यान्न र खानेपानीको अभाव, स्वास्थ्य तथा संरक्षण सेवामा अवरोध र हिंसा तथा शोषणको जोखिम बढेको छ। विशेषगरी महिला तथा बालिकाहरू यस्तो जोखिममा बढी पर्ने देखिएको छ।
नेपालका लागि यूएन वुमन प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले विपद्का समयमा महिला तथा बालिकामाथि विद्यमान जोखिम अझ बढ्ने बताइन्।
उनका अनुसार विपद्का समयमा स्रोतसाधनको अभाव हुँदा महिला तथा बालिकाहरू हिंसा, शोषण र दुर्व्यवहारको बढी जोखिममा पर्छन्। साथै, खाद्यान्न र औषधिको अभाव हुँदा उनीहरू थप प्रभावित हुने गरेका छन्।
विपद्को समयमा महिलामाथि अवैतनिक हेरचाहसम्बन्धी जिम्मेवारी पनि उल्लेख्य रूपमा बढ्ने गर्दछ। पानी तथा अन्य अत्यावश्यक सामग्री जुटाउन उनीहरूले थप दूरी यात्रा गर्नुपर्ने र आर्थिक रूपमा पनि थप कमजोर बन्नुपर्ने अवस्था आउने गरेको छ।
महिला तथा बालिकाहरूलाई राहत तथा सहायता प्राप्त गर्न सूचना र सेवामा पहुँचको समेत समस्या देखिएको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा करिब तीनमध्ये एक महिला निरक्षर रहेको अनुमान छ। यसले राहतसम्बन्धी सूचना प्राप्त गर्न, दर्ता प्रक्रिया पूरा गर्न तथा आफूले पाउनुपर्ने सहायता स्वतन्त्र रूपमा दाबी गर्न थप कठिनाइ सिर्जना गरेको छ।
बागमती प्रदेशमा करिब तीनमध्ये एक घरपरिवार महिलाको नेतृत्वमा रहेको र त्यसमध्ये करिब एक तिहाइ परिवार पहिले नै दबाबमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निर्भर रहेको जनाइएको छ।
नेपाल सरकारको समग्र विपद् प्रतिकार्यसँगै संयुक्त राष्ट्रसंघीय निकाय, महिला अधिकारसम्बन्धी संस्था तथा मानवीय सहायता साझेदारहरूसँगको सहकार्यमा यूएन वुमनले प्रभावित महिला तथा बालिकाको आवश्यकता सम्बोधन गर्न काम गरिरहेको जनाएको छ।
महिला तथा बालिकाले आवश्यक सेवा र संरक्षणमा सहज पहुँच पाउन तथा राहत, पुनःस्थापना र पुनर्निर्माण प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्न विभिन्न कार्यक्रम अघि बढाइएका छन्।
यसअन्तर्गत महिलालाई प्रत्यक्ष जीविकोपार्जन सहयोग उपलब्ध गराउने, अवैतनिक हेरचाहको बोझ घटाउने तथा कागजात, सम्पत्तिको स्वामित्व, भाषा र आवागमनसँग सम्बन्धित अवरोध हटाउने प्रयास भइरहेको छ।
यूएन वुमनले ‘कम्युनिटी किचेन’ पहलका लागि समेत स्रोत परिचालन गरिरहेको छ। महिलाको नेतृत्वमा सञ्चालन हुने यस आपत्कालीन संयन्त्रले प्रभावित समुदायलाई तत्काल खाद्यान्न उपलब्ध गराउनुका साथै महिलाको नेतृत्व विकास, जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनाका लागि अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।
बाढीबाट प्रभावित महिला तथा बालिकालाई आवश्यक सहायता र संरक्षण उपलब्ध गराउन यूएन वुमनले २० लाख अमेरिकी डलर सहयोगका लागि तत्काल अपिल गरेको छ।
विशेषगरी विस्थापित भएका तथा हिंसा, मानव बेचबिखन र शोषणको उच्च जोखिममा रहेका महिला तथा बालिकासम्म राहत र संरक्षण पुर्याउन थप स्रोत आवश्यक रहेको यूएन वुमनले जनाएको छ।
यूएन वुमन प्रतिनिधि फर्नान्डेज–पाचेकोले जोखिममा रहेका र आधारभूत आवश्यकतासमेत पूरा गर्न संघर्ष गरिरहेका महिला तथा बालिकासम्म तत्काल स्रोत र सहायता पुर्याउनुपर्नेमा जोड दिनुभएको छ।
महिला तथा बालिकाको आवश्यकता केन्द्रमा राखेर गरिने मानवीय प्रतिकार्यले थप क्षति रोक्न तथा उनीहरूलाई सुरक्षित, सम्मानजनक र आत्मनिर्भर रूपमा पुनःस्थापित हुन सहयोग गर्न सक्छ, उनले बताईन् ।
प्रतिक्रिया