(Tuesday , 23 June,2026)

सफलताको कथा 

दश रुपैयाँ संकलन गरी करोडौँको कारोबार गर्न सफल

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । कुनै समय यस्तो थियो महिलाले महिलाले केवल घरको चार पर्खाल भित्र रहेर चुलोचौको र मेलापातमा मात्र गर्नुपर्छ । घर भन्दा बाहिर काम गर्ने त पुरुष मात्र हुन् । तर, अहिले समय बदलिएको छ । कमजोर महिलाहरु पनि घरको चार पर्खालबाट बाहिर आएर मेलापात चुलोचौकोसँगै करोडौँको कारोबार गर्न सफल भइरहेकी छन् ।  

घरको मेलापात चुलोचौको सम्हाल्दै करोडौँका कारोबार गर्न सफल उदाहरण सिन्धुलीकी इन्दिरा पोखरेल र दाङकी पुनम भण्डारी लगायतका महिला बनेको छन् । घर भित्रको बन्दबाट बाहिर आएर व्यवसायीक कारोबार  गर्ने यि महिलालाई सहजता भने सुरुवातका दिनमा पक्कै थिएन् । हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगले उनीहरुलाई अहिले सफल उद्यमी बन्न सहयोग गरेको हो ।

 समाजको नजरमा उनीहरू केवल ‘गृहिणी’ थिए, जसको आफ्नै कुनै आर्थिक हैसियत थिएन । १० रुपैयाँको बचत गर्न पनि श्रीमानको अनुमति लिनु पर्ने अवस्था थियो ।  तर, आज घरको चार पर्खाल चुलोचौको र मेलापातमा सीमित उनीहरुका हातले अहिले करोडौँको सहकारीको हिसाब किताब र सयौँ महिलाहरुको भविष्य सम्हालिरहेका छन् ।  दाङको लमही नगरपालिका–१, सुन्दरी टोलकी पुनम भण्डारीले ’नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था’ खडा गर्दा भोगेको पीडा निकै गहिरो छ । महिलाहरु संगठित हुन खोज्दा समाजले मात्र होइन, आफ्नै परिवारले पनि शंकाको घेरामा राख्थ्यो ।

पुनम ती दिन सम्झिन्छिन्, ‘हामीले १० रुपैयाँ बचत गर्न सुरु गर्दा श्रीमानहरुले भन्नुहुन्थ्यो, ‘महिला भनेको घरभित्र बस्ने हो, किन बैठक जानुप¥यो ?’  कतिसम्म भने, पुनमसँगै समूहमा काम गर्ने दिदीबहिनीहरुलाई घरमा श्रीमानले अन्तिम चेतावनी दिन्थे । ‘ कि यो सहकारी र समूह छोड, कि मलाई छोड । ‘ एउटा १० रुपैयाँको बचतका लागि ‘डिभोर्स’ सम्मको धम्की सहनुपर्ने पिडा ती महिलालाई थियो ।

१० रुपैयाँका लागि श्रीमानले ‘डिभोर्स’ दिने सम्मको धम्की आउनु कति पिडादायी हुन्छ एउता महिलालाई यो हामी सहजै महसुस गर्नु सक्छु । 
यस्ता चुनौतीका बावजुद हार नखाइ आप्mनो संर्घषलाई निरन्तरता जारी गर्दा आजको दिनमा करोडौँको  कारोबार गर्ने भएकी छन् । पुनम भण्डारीका अनुसार २०७१ चैत ४ गते १० रुपैयाँ संकलन गरी ५१ जना महिला दिदी बहिनी मेलिर ५१ हजार रुपैयाँ सेयर पुँजीमा ‘नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था’ स्थापना गरेको थियो ।

५१ हजार रुपैयाँ पुँजीबाट सुरु गरेको यो सहकारीको कारोबार अहिले ८ करोड ५० लाख रुपैयाँ नाघेको छ । ५१ जना सदस्यबाट अहलिे १ हजार ४ सय ५८ जना महिला सदस्यहरू यो संस्थामा आबद्ध छन् । यस संस्थाले केवल बचत मात्र गर्दैन, गाउँमा खसीबोकाको व्यापार, दाना, रासायनिक मल र पशु बिमाको समेत जिम्मा लिएको छ । पुनम सुनाउँछिन्, ‘हिजो १० रुपैयाँ माग्दा हप्काउने श्रीमानहरु आज आफैँ खुसी हुनुहुन्छ । जो पुरुषहरुले हामीलाई हेप्थे, आज उनीहरु नै हाम्रो सहकारीमा सदस्य बन्न लाइन लाग्छन् ।

‘महिलाहरुले अहिले विना धितो ३ लाखसम्म र धितोमा १५ लाखसम्म ऋण लिएर व्यवसाय गर्न सक्ने भएका छन् । यो केवल पैसाको वृद्धि होइन, यो त महिलाहरुको आत्मविश्वास र सामाजिक सम्मानको पुनर्जन्म हो । पनुम भण्डारीका अनुसार नीलकमलले आर्थिक वर्ष २०८५÷८६ सम्ममा आप्mनो कुल नाफा हालको ५५ करोड ५३ लाखबाट बढाएर १ अर्ब ८ करोड २२ लाख रुपैयाँ पु¥याउने योजना बनाएको छ । सोही अवधिमा कर पछिको नाफा ११ करोड ३० लाख रुपैयाँबाट बढेर ५२ लाख ३४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । 

यस्तै सिन्धुलीकी इन्दिरा पोखरेलको कथा पनि पुनम भण्डारीको भन्द कम चुनौतीपूर्ण थिएन । कमलामाई नगरपालिका–४ की इन्दिरा र उनका साथीहरुलाई सुरुमा समाजले ‘बहुलाएको’ भन्थ्यो । ‘आइमाईहरु मिलेर के नै गर्लान् र ? ‘ भन्ने प्रश्नहरुको पहाड उनीहरुका अगाडि सधैँ खडा हुन्थ्यो । तर, हेफर इन्टरनेशनलको प्राविधिक सहयोग र उनीहरुको आफ्नै दृढ अठोटले बिस्तारै आकार लिन थाल्यो ।

इन्दिरा पोखरेलको नेतृत्वमा २०८० चैत १२ गते सिन्धुलीमा ‘कमलामाई सामाजिक उद्यमी महिला सहकारी संस्था’ स्थापना भयो । सुरुमा सानो समूहमा आबद्ध भए पनि पछि दक्षिण कोरियाबाट उपहारस्वरूप प्राप्त ८० वटा शुद्ध नश्लका ‘होल्स्टेन’ गाईहरुले उनीहरुको जीवनमा नयाँ मोड ल्यायो । ‘हामीले दुध त उत्पादन ग¥यौँ, तर बजारमा बिचौलियाको दबदबा थियो,‘ इन्दिरा भन्छिन् ।

स्थानीय डेरीहरुले उनीहरुको दुध लिन अस्विकार गरे । तर, उनीहरुले हार मानेनन् । स्थानीय सरकारसँग समन्वय गरेर उनीहरुले ’मिल्की वे’ परियोजनामार्फत सुजल डेरीसँग सम्झौता गरे । सुरुमा दैनिक १ सय १९ लिटर दुधबाट सुरु भएको संकलन अहिले हजारौँ लिटर पुगेको छ । ५२ जनाबाट सुरु भएको सहकारीमा आज २३ वटा समूहका सयौँ महिलाहरू आबद्ध छन् । ती महिलाहरु जो हिजो अर्काको भर पर्थे, आज आफ्नै गाई फार्म चलाउँछन् र महिनाको राम्रो आम्दानी गर्छन् । 

यस्तै,इन्दिरा र पुनम त एउटा उदाहरणका पात्र मात्र हुन् । पछिल्लो समय सानो बचत संकलन पुँजी संकलन गरी उद्यमी व्यवसाय गरी महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् । घरको चुलोचौकोमा सीमित महिलाहरू अहिले सहकारी चलाउँछन्, व्यावसायिक पशुपालन गर्छन् र आर्थिक निर्णयहरु आफैँ लिन सक्ने भएका छन् । यदि महिलाहरुलाई सही अवसर, तालिम र नेतृत्व दिने हो भने उनीहरुले समाजको आर्थिक नक्सा नै बदल्न सक्छन् । 
 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal