(Sunday , 19 April,2026)

दुई महिनामा साढे दुई अर्ब व्यापार घाटा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशत धेरै हो । गत आवको भदौसम्म २ खर्ब ८७ अर्ब ६३ करोडको वैदेशिक व्यापार भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । दुई महिनाको तथ्यांक हेर्दा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ छ ।

दुई महिनामा वस्तु आयात ३ खर्ब नाघेको छ । भदौसम्म ३ खर्ब ५ अर्ब १५ करोडबराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशत बढी हो । अघिल्लो आवमा २ खर्ब ६२ अर्ब ५४ करोडको वस्तु आयात भएको थियो । दुई महिनामा निर्यात भने ८८.५७ प्रतिशतले वृद्धि भएको छ । भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशत छ, जुन अघिल्लो आवको तुलनामा ५.१५ प्रतिशत कम हो । निर्यात हिस्सा १३.४२ प्रतिशत छ । यो अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले धेरै हो ।

विभागका अनुसार दुई महिनामा ४५ अर्ब ३९ करोडको इन्धन आयात भएको छ । बढी आयात हुने वस्तुको समूहमा वनस्पति तेल दोस्रो स्थानमा छ । आइरन र स्टिल २२ अर्ब ९७ करोड रुपैयाँबराबरको आयात भएको छ । इलेक्ट्रिकल मेसिन र त्यसका पार्टपुर्जा २२ अर्ब १६ करोडको आयात भएको छ । दुई महिनामा १७ अर्ब २२ करोड रुपैयाँबराबरका सवारीसाधन आयात भएको तथ्यांक छ । यो अवधिमा औषधीजन्य सामग्री ७ अर्ब १० करोडको आयात भएको छ ।

निर्याततर्फ वनस्पति तेलको हिस्सा पहिलो स्थानमा छ । २३ अर्ब ५६ करोड रुपैयाँको वनस्पति तेल निर्यात भएको छ । कार्पेट, कफी, चिया नेपालबाट बढी निर्यात हुने वस्तुमा पर्छन् । आयात धेरै भएका वस्तुको पहिलो स्थानमा कच्चा सोयाबिन तेल छ, जुन २१ अर्ब ६४ करोडको आयात भएको छ । दोस्रो स्थानमा डिजेल १४ अर्ब ९१ करोडको आयात भएको देखिन्छ । त्यस्तै, तेस्रो स्थानमा भने डीएपी मल १३ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ । दुई महिनामा स्मार्टफोन ९ अर्ब ४३ करोडको आयात भएको छ ।

निर्यात धेरै भएका वस्तुको पहिलो स्थानमा सोयाबिन तेल छ, जुन २० अर्ब ४२ करोडको निर्यात भएको छ । दोस्रो स्थानमा कार्पेट १ अर्ब ५८ करोड, सूर्यमुखी तेल १ अर्ब ३८ करोड र पाम तेल १ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal