काठमाडाैँ । शहरी क्षेत्रको जनसंख्या ४ दशमलब ७६ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार कुल जनसंख्याको दश वर्षमा शहरी क्षेत्रको जनसंख्या ४ दशमलब ७६ प्रतिशतले वृद्धि भएको देखाएको हो । नेपालको सन्दर्भमा ग्रामीण तथा शहरी क्षेत्रमा वर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र २०७८ को बिचमा शहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको देखिन्छ।
त्यसैगरी, शहरोन्मुख जनसङ्ख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिन्छ।पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ। विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भए पनि "शहरी" क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा रहेको देखिन्छ ।ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसङ्ख्या पहाडमा (६६%) र हिमालमा (१६%) केन्द्रित भएको देखाएको छ। शहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा (८५%) र पोखरा महानगरपालिका र काठमाडौँका उपत्यका कारण असन्तुलित हुँदै शहरी जनसङ्ख्या पहाडमा (५३%) र त्यसपछि तराईमा (३९%) केन्द्रित भएको देखिएको छ।
स्थानीय तह अनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूको २४१२ वडाडमा ५८ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ, जबकि अधिकतर शहरोन्मुख (६६४ वडाहरू) क्षेत्रमा ३६.१ प्रतिशत र शहर (१३९ वडाहरू) मा ५.९ प्रतिशत जनसङ्ख्या रहेको देखिन्छ। त्यस्तै, नगरपालिकाहरूको २८.४ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा (५९१ वडाहरू), बहुसङ्ख्या करिब ४६ प्रतिशत शहरोन्मुख क्षेत्रमा (१२८५ वडाहरू) र अझै पनि २५.४ प्रतिशत (१२४४ वडाहरू) ग्रामीण क्षेत्रमा रहेको देखिन्छ।
उपमहानगरपालिकाहरूमा पनि ३९ प्रतिशत जनसङ्ख्या शहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ। महानगरपालिकाहरूमा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ र २.३ प्रतिशत ग्रामीण विशेषताको तथा ८०.७ प्रतिशत शहरी क्षेत्र छ। तुलनाले के देखाउँछ भने नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि शहरोन्मुख छन् र उल्लेख्य जनसङ्ख्या ग्रामीण परिदृश्यमा नै छ। त्यसैगरी, शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको सङ्ख्या धेरै (३६८५) छ, तिनमा कुल जनसङ्ख्याको ३३ प्रतिशत मात्रै रहेको देखिन्छ।
प्रदेशगत हिसाबले विश्लेषण गर्दा सङ्घीय संरचनामा शहरी र शहरोन्मुख जनसङ्ख्या (कुल ६६.८ प्रतिशत) को वितरण तुलनात्मक रूपमा असन्तुलित छ। मधेश प्रदेशमा सबैभन्दा उच्च (१९.९ प्रतिशत), त्यसपछि बागमती (१४.६ प्रतिशत) र सबैभन्दा कम (१.२ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ। तथ्याङ्कले शहरी जनसङ्ख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहहरूमा रहेको देखाउँछ।
मधेश प्रदेशमा बहुसङ्ख्याका वडाहरू (९७१) शहरोन्मुख विशेषताका छन्। बढी शहरी क्षेत्र भएको दोस्रो ठुलो प्रदेश बागमती देखिन्छ, जबकि यहाँ पनि ग्रामीण वडाको सङ्ख्या ६७२ छ भने कुल शहरोन्मुख र शहरी वडा ४४९ वटा छन्। कर्णाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा शहरी र ६ वटा वडा शहरोन्मुख विशेषतायुक्त छन्।
जनगणना २०६८ र २०७८ को तथ्याङ्कका लागि ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिले तुलनायोग्य नतिजा देखाएको छ। उक्त विधि नीति निर्माता तथा आम उपयोगकर्ताहरूको अपेक्षासँग मेल खाने देखिएको छ। यसका साथै, नतिजा स्थानीय वास्तविकतासँग तालमेल रहेको पनि देखिएको छ, जुनकुरा स्थलगत परिक्षणबाट पनि पुष्टि भएको छ।
प्रतिक्रिया