काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् । प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको हो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ मा १ हजार ९४४ जना उम्मेदवार थिए । यस पटक पनि नाम फिर्ता लिने तथा दाबी विरोधपछि उम्मेदवारको संख्या केही घट्न सक्छ । कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । लैंगिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टीले भने आफ्नो तर्फबाट ६ जना प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।
आयोगका अनुसार २५–३५ वर्ष उमेर समूहका ५८३, ३६–५० वर्ष उमेर समूहका १ हजार ६१०, ५१–६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार छन् । यस पटक प्रमुख राजनीतिक दलहरूबीच चुनावी गठबन्धन छैन ।
कांग्रेस र एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, रास्वपाले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमतले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपा अध्यक्ष पुष्पकमल दाहाल रुकुम पूर्व, रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिएका छन् । रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन्द्र शाह पूर्वप्रधानमन्त्री ओलीलाई चुनौती दिन झापा–५ पुगेका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र जनमतका अध्यक्ष सीके राउतले सप्तरी–२ तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट प्रतिस्पर्धा गर्दै छन् । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार छैनन् । उनी २०४८ यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट जित्दै आएका थिए ।
सबैभन्दा बढी धनुषा–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन् । सबैभन्दा कम मनाङमा ५ जनाले उम्मेदवारी दिएका छन् । मनाङमा सात हजार मतदाता छन् । उम्मेदवारहरूले सम्बन्धित निर्वाचन क्षेत्रमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।
मनोनयनका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकिएको थियो । त्यस अवधिमा निर्वाचन अधिकृतको कार्यालय परिसरभित्र प्रवेश गरेका व्यक्तिले उम्मेदवारी दर्ता गराउन पाएका थिए । कतिपय निर्वाचन क्षेत्रमा साँझसम्म पनि उम्मेदवारले दिएका निवेदन तथा कागजातको रुजु गरिएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिनेछ । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुपर्ने आयोगले जनाएको छ । उजुरीमाथि जाँचबुझ गरेर बिहीबार बेलुका उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
उम्मेदवारले चाहे शुक्रबार बिहान १० देखि १ बजेसम्म आफ्नो नाम फिर्ता लिन पाउनेछन् । त्यसपछि त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची दलहरूले १३ र १४ पुसमै आयोगमा बुझाइसकेका छन् । समानुपातिकतर्फ प्रतिस्पर्धामा ५७ दल छन् ।
मंगलबारको उत्साहपूर्ण मनोनयनपछि प्रधानमन्त्री सुशीला कार्कीले महत्त्वपूर्ण कोशेढुंगा पार भएको प्रतिक्रिया दिएकी छन् । निर्धारित समयतालिकाभित्र मनोनयन दाखिला गराउने राजनीतिक दल र उम्मेदवारप्रति उनले आभार व्यक्त गरेकी छन् । जेन–जी विद्रोहपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वको सरकारलाई मुख्य जिम्मेवारी नै प्रतिनिधिसभाको निर्वाचन गराउने तोकिएको थियो ।
प्रधानमन्त्री कार्कीको सचिवालयद्वारा मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न पूर्ण इमान र सामर्थ्यका साथ सरकार लागिपरेको उल्लेख गरिएको छ । ‘हाम्रा सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘अब मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताले स्वतन्त्र ढंगले आफ्नो अधिकार प्रयोग गर्ने बेला आएको बताए । ‘निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी भइसक्यो । अब निर्वाचन प्रक्रिया मात्रै बाँकी छ,’ कान्तिपुरसँग उनले भने ।
एकदम उत्साहजनक र शान्तिपूर्ण भएको छ । सबै पक्षले निर्वाचनमा भाग लिएको देखिएको छ । उम्मेदवारको संख्या पनि अत्यधिक छ । नयाँ, पुराना सबै दलले चुनावमा भाग लिएका छन् । स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ । निर्वाचनलाई लिएर उत्साह देखिएको छ । अब आम मतदाताले स्वतन्त्र ढंगले आफ्नो अधिकारको प्रयोग गर्ने हो । आयोगको एकमात्र उद्देश्य निष्पक्ष, स्वच्छ र भयरहित ढंगले निर्वाचन गराउने हो ।
निर्वाचन हुँदैन कि भन्ने विभिन्न खाले शंकाबीच समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवारी दर्ता भइसकेको छ । अब चुनावलाई कुनै प्रकारको चुनौती देख्नुहुन्छ ? ‘निर्वाचन हुँदैन’ भन्ने शब्दावली अब रहेन । हामी लगातार निर्वाचनको तयारीमै व्यस्त थियौं । निर्धारित निर्वाचन कार्यक्रमअनुसार सबै काम भएका छन् । मतदाता, उम्मेदवार, राजनीतिक दल सबै निर्वाचनमा होमिसकेका छन् ।
२१ फागुनको मतदान आउन झन्डै डेढ महिनाको समय रहन्छ । यो लामो अवधिले उम्मेदवारको प्रचारमा लाग्ने खर्च बढाउँदैन ?
प्रचारप्रसार गर्ने अवधि आयोगले तोकेको छ । ४–१८ फागुनमा मात्रै उम्मेदवारले प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा के गर्न हुने र के नहुने स्पष्ट भनेको छ । खर्चको सीमा पनि तोकिएको छ । त्यही भित्र रहेर उम्मेदवारले प्रचार गर्ने हो । उम्मेदवारको अन्तिम नामावली आएर चुनाव चिह्न पाएपछि मतदातालाई भेट्न, घरदैलो गर्न, रायसुझाव लिन भने पाउनेछन् । तर आमसभा, सेमिनार, र्याली गर्न भने ४–१८ फागुन नै पर्खनुपर्छ । मौन अवधिमा प्रचार गर्नर् मिल्दैन ।
निर्वाचन तयारी कहाँ पुगेको छ ?
निर्वाचन व्यवस्थापनको तयारी भइसक्यो । अब निर्वाचन प्रक्रिया मात्रै बाँकी छ । समानुपातिकतर्फको मतपत्रको छपाइ भइरहेको छ । प्रत्यक्षतर्फ उम्मेदवारहरूको अन्तिम नामावली आएपछि मतपत्र छपाइ सुरु हुनेछ । त्यसपछि मतपत्रको ढुवानी गरिनेछ ।
आचारसंहितालाई लिएर आयोगप्रति सधैं प्रश्न रहन्छ । उल्लंघनका घटना भएका देखिन्छन् तर आयोग कारबाहीमा उत्रिँदैन भनिन्छ । यसबारे के भन्नुहुन्छ ?
आचारसंहिता पालनामा कडाइ हुन्छ । उल्लंघन गर्नेमाथि कारबाही हुन्छ । प्रमाणसहित उजुरी आयो भने छानबिन हुन्छ, स्पष्टीकरण सोधिन्छ, विधिसम्मत प्रक्रिया पूरा गरेर कारबाही हुन्छ । आचारसंहिता उल्लंघन गर्न पाइँदैन । उम्मेदवार, राजनीतिक दलका साथै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्दै अनुशासनको लक्ष्मणरेखाभित्र रहिदिन आग्रह गर्छौं ।
निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य बनाउन सबैले योगदान गर्नुपर्छ । नेपालको निर्वाचनलाई विश्वले हेरिरहेको छ । नेपालले ठीक ढंगले निर्वाचन सम्पन्न गरेको छ भन्ने सन्देश विश्वलाई पुग्नुपर्छ । कान्तिपुर
प्रतिक्रिया